जाडोले चिसिएको डालस, आइतबार अचानक तात्यो- त्यो पनि शब्दहरूले। नेपाली गजलहरूका चोटिला शब्दहरू सँग डालस तात्ने मात्र हैन, अलि रोयो- अलि हास्यो, अनि सँग सँगै केही अपेक्षा र आक्रोश पनि पोख्यो। थोरै सृंगारियो, त थोरै समाजको वास्तविक तस्बिर पनि देखायो शब्दहरू मार्फत।
हालै मात्र जन्मेको 'गजल यात्रा, टेक्सस' को पहिलो प्रस्तुति थियो - गजल उत्सव, डालस। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको अर्भिंग स्थित सामुदायिक भवन भित्र खचाखच भरिएका र आधा दर्जन भन्दा बढी अनलाइन मार्फत प्रत्यक्ष हेरिरहेका दर्शकहरूले यो गजल सङ्गमलाई उत्सव सम्झेनन् - महा-उत्सव माने।
परदेशमा तमशुक धितो राखेर आएको छु
आमाको गला रित्तो राखेर आएको छु
जन्मेको भूमि छोडेर सात समुन्द्र पारी बस्नुको पिडा पनि पोखियो ईश्वरी कार्की 'वर्षा' को गजलमा। धेरै श्रष्टाहरुले मुलुक सम्झे कार्यक्रम भर। हाल अमेरिकाको व्यक्तिगत भ्रमणमा रहेका हास्य कवि शैलेन्द्र शिम्खडा पनि के कम - आफ्नो ताजा भावना यसरी सुनाए डालसका नेपालीलाई :
''चित्र नेपालले हुन्न , भित्र नेपाल चाहिन्छ "समाजमा हुने असमानतालाई स्रष्टा यदु अधिकारी 'साल्दाई' ले दर्शकदिर्घाको तालीको गुञ्जाहट सँगै सुनाए:
कसैलाई मतलब छैन, गरिब भोकले मरी रा' छ
बिचित्रको दुनियाँ छ, स्वार्थी खल्ती भरी रा' छ
गजलहरूमा समाजका बेथिति ओकलिए - मनका भावनाहरू पोखिए।
अर्का स्रष्टा बासु अधिकारीले पनि यही भावनालाई स्थान दिँदै समाजमा गरिब र धनी बिचको बढ्दो खाडल प्रति इङ्गित गर्दै सोधे:
थाह छैन मलाई यस्तो संसार कसरी भयो ?
कतै झिलमिल कतै अन्धकार कसरी भयो ?
उत्तर कसैले दिएन बासुका प्रश्नको, तर मनको ज्वालालाई गजल बनाएर पोख्दा उनी शकुनमा देखिन्थे।
नेपालमा न्यायमुर्तिहरु माथि प्रश्न उठिरहेको सन्धर्ब छोपेर स्रष्टा खेमराज गैराघरेले सुनाए –
सुन्छु अचेल न्याय मर्यो भन्छन्
निमुखाको पहुँच भन्दा बाहिर पर्यो भन्छन्
मान्छे -मान्छे बिचको प्रेम मात्र हैन, सत्ता र कुर्चीको प्रेम पनि बडा डर लाग्दो हुन्छ भन्ने आशय बोकेर स्रष्टा राधाकृष्ण काफ्लेले भने :
फुल सकेर झरे पछि बास्ना आफै जान्छ
प्रेम रोग लागे पछि जता तातै हान्छ
पदको मोह भएकालाई ब्यङ्ग थियो काफ्लेको गजलमा।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस शाखा र विश्व भुटानी साहित्य सङ्गठनको सहयोगमा गजल यात्रा टेक्सस द्वारा आयोजित सो गजल उत्सवमा शुषान्त कंडेल, शतिश त्रिपाठी, सुनिल अधिकारी, बाशु पौडेल, सुर काली, भगवती पौडेल, नेत्रप्रसाद आचार्य, निलहरी आचार्य, बिदुर दवाडी, पातलो अन्तर र आनन्द खनाल लगाएतले आफ्ना अब्बल दर्जाका गजलहरु सुनाउनु भएको थियो। कार्यक्रमको सञ्चालन सुमन कार्कीले गर्नु भएको थियो।
प्रेमका प्रसङ्ग चले गजलमा। बिछोडका वेदना पनि सुनिए गजलमा। जीवनका गाथा र अत्यास लाग्दा कथाहरू समेत बुनेर पवन लामिछानेले सुनाए मनको कुरा आफ्नो गजलमा :
दुखको जहाज चढेर यात्रा गर्नु छ - जिन्दगी भरि सहेर यात्रा गर्नु छ
यो कस्तो यात्रा रहेछ बाच्नेहरूको - यसरी पलपल मरेर यात्रा गर्नु छ