इरानमा विगत एक हप्तादेखि जारी प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ। इरानका सरकारी सञ्चारमाध्यमले मङ्गलबार यस्ताे जानकारी दिएका छन्। मृत्यु हुनेहरूको सङ्ख्या विगत पाँच दिनमा २१ पुगेको छ।
काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा छ प्रदर्शनकारीको मृत्यु भएको छ। उक्त सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका छन्।
इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यता राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन्।