कुनै समय थियो जब प्रसिद्ध समाचार संस्था सी एन एन मा एक नेपाली युवती किरण क्षेत्री टेलिभिजन पत्रकार थिइन। त्यसताका म नेपालमै भए पनि मन हर्षले गदगद हुन्थ्यो र एउटी नेपाली चेलीको प्रगति देखेर कल्पना गर्थें मेरा छोरीहरुपनि यस्तै भैदिए।
एक जना नेपाली युवा वैज्ञानिक र खगोलशास्त्री लुजेन्द्र ओझाले गरेको महत्त्वपूर्ण अनुसंधानबारे मेरो हाईस्कूल पढ्ने छोराले ख़ुशी हुँदै एक दिन भन्यो “नेपालीहरू पनि कम छैनन् नि”।लाग्थ्यो उसलाई ओझाको प्रगतिले ख़ुशी र प्रेरणा दिइरहेको छ।छोरीहरू कैलेकाहि प्रज्वल गुरुङ्ग र ऊनको फ़ेशन डिज़ाइनिंगका सफलताका कुरा गर्छन्।म सुनेरै दङ्ग पर्छु।
सम्राट ऊपाध्यायको अंग्रेज़ी सहित्यमा सफलता होस,कुनै नेपालीले ब्रिटिस सेनामा सम्मानित पदक प्राप्त गरेको कुरा होस वा ऊदित,मनीषा र टेरियाका सफलताहरू किन नहुन हामी सबै नेपालीले गर्व गर्ने र ख़ुशी हुने कुराहरू हुन। विज्ञान प्रविधि,व्यापार,जागिर साहित्य कला र सङ्गीत जस्ता क्षेत्रहरूमा नेपालीहरूले अमेरिका,युरोप,कतार,दुबई,मलेसिया,जापान जस्ता देशहरूमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।नेपाल र सबै नेपालीलाई फ़ायदा पुग्ने र गौरवका विषय हुन यी।
प्रवासमा हालका दिनहरूमा केही नेपालीहरू त्याहॉका स्थानीय र क्षेत्रीय राजनीतिमा पनि संलग्न हुन थालेका छन्।युरोपतिर डेनमार्कको कोपनहेगनका हरिप्रसाद न्यौपाने,अमेरिकाका दर्शन रौनियार,एटलान्टा जर्जियामा अमृता रेग्मी र क्यानडामा बेन्जामिन शर्माहरुले त्याहॉको राजनीतिमा लागेर सफल हुने प्रयास गर्दैगर्दा हाल अमेरिकाकै मेरिल्यान्ड राज्यको राज्य बिधानसभा सदस्य(State delegate)को लागि डेमोक्रेटिक पार्टी बाट निर्वाचन क्षेत्र डिस्ट्रिक ८ मा दोस्रो पटक प्रतिशपर्धा गरिरहेका तिन जना मध्ये एक हुन एचबि ह्यारी भण्डारी।
पहुँच,पहिचान र संख्यात्मक हिसाबमा पछिपरेका हामी नेपालीहरूका आवाजलाई राज्यका संबंधित ठॉऊमा पुर्याउन,हामी नेपालीहरू सिमान्तकृत/minority समूहमा पर्छौ भनेर लबिंग गर्न र हामी नेपालीहरू स्थाईरुपमा बस्ने देशहरूमा राज्यबाट पाउन सक्ने विशेष सुविधाहरू पाउनको लागि साथै हाम्रो अस्तित्व वा हैसियत देखाउनको लागि पनि कोही न कोही हरेक देशका राज्य,काउन्टी र सिटीहरुका राजनीतिमा प्रवेश गर्न ज़रूरी छ।यसै संदर्भमा स्कुल बोर्ड,सिटी काउन्सिल,मेयर.स्टेट डेलिगेट वा लेजिसलेटिव हुँदै कङ्ग्रेस र सीनेटसम्म पुग्ने लक्ष्य राखेर अगाडि बढ्नलाई ह्यारी भण्डारीले सबैलाई प्रेरित गर्दै हुनुहुन्छ।नयॉ पुस्तलाई यो अवसरको देशमा राजनीति पनि आफू,आफ्नो समाज र यो देशलाई केही दिन सक्ने सम्भावना र अवसर भएको क्षेत्र हो भनेर यसमा लाग्न मार्गदर्शन र प्रेरणा दिँदै हुनुहुन्छ।
अमेरिका,क्यानडा,युरोप लगायत अन्यदेशहरुमा धेरै भारतीय र अन्यदेशका मानिसहरू राज्यका विभिन्न उपल्ला महत्त्वपूर्ण सार्वजनिक पदहरुमा छन्।ती देशका सरकार र मानिसहरू तिनिहरुप्रति गर्व गर्छन्।अघि बढ्न सहयोग गर्छन्।अतह कुनै नेपालीले प्रगति गरे एक दिन नेपाललाई पनि फाइदा हुन्छ भन्नेकुरा अमेरिकी पूर्व राष्ट्रपति ओबामाले ऊनको पुर्खौली देश केन्या प्रतिको ब्यवहार र केन्याले उनीप्रति देखाएको प्रेमले दर्शाउछ।
केन्याली किसानका नाति ओबामा अमेरिकाको राष्ट्रपति बनेको दिन केन्या सरकारले सार्वजनिक बिदा दिएको थियो।अमेरिकी राष्ट्पति ओबामाले राष्ट्रपति हुँदा ऊनको पैत्रिक देश केन्याको भ्रमण गरेका थिए।अमेरिकाको सिनेटर हुँदा समेत ऊनको पुर्खौली गाउँ कोगेलो गएका थिए।उनकी हजुरआमाले पकाएको परम्परागत केन्याली खाना खाएका थिए।त्यहाको माटो स्पर्श गरेर त्याहां बसोबास गर्ने ऊन्का आफन्तहरुसँग भेटेका थिए।केन्यालीहरुले आफ्नो छोरो र भाइ भनेर हार्दिकता देखाएका थिए।
ऊनका आलोचकहरुले ऊनको आलोचना गर्दैगर्दा र ऊनको ग़लत जन्मदर्ता प्रमाणपत्र भन्दैगर्दा समेत ओबामा भने केन्यालीहरुसंगको आफ्नो सम्बन्धलाई जीवन्त राखिरहे।केन्याली युवाहरूलाई केही गर्न प्रेरणा दिइरहे।केन्याली सरकारलाई भ्रष्टाचार,आतंकवाद र रुढिबाद हटाउन र देश विकास गर्न आव्हान गर्दै सहयोगका हाथहरु बढाइरहे।उनी आफू केन्यामा नजन्मे पनि,अमेरिकी राष्ट्पति भए पनि ऊन्को पैत्रिक देश र पुर्खौली भूमि लाई आत्मसात गरिरहे।आफ्नो सरलता र महानता देखाएर आफुमात्र होइन आफ्ना पितापुर्खाहरुको देशप्रति पनि मानिसको भावनात्मक सम्बन्ध हुन्छ भन्ने संदेश विश्वलाई दिएका थिए।
हवाई बाट यु एस कॉंग्रेसमा प्रतिनिधित्व गर्ने तुलसी गेवार्ड गीता छोएर शपथ लिन्छिन र गीताको बरेमा प्रबचन दिन्छिन।कृश्चियन अप्रवासी बाबुकि छोरी भए पनि अमेरिकाकि उदीयमान युवा राजनीतिज्ञ हुन।भारतीय अप्रवासीका छोरा पियुष बबी जिंडल बनेर गभर्नर हुँदै अमेरिकाको राष्ट्रपतिका उम्मेदवार हुनसक्छन।निकी हेलीहरु युएनमा अमेरिकाका राजदूत बन्न सक्छन्।स्लोभेनियाकि मेलेनिया केही दशकमै अमेरिकी प्रथम महिला बन्न सक्छिन भने नेपालका पर्बतका हरिप्रसादहरु वा ताप्लेजुन्गका रामप्रसादका संतानहरु अमेरिकी सिनेटर किन बन्न सक्दैनन!ठुलो सार्वजनिक पदमा किन पुग्न सक्दैनन!जरुर सक्छन्।
त्यसैले पर्बतमा आफ्ना जीवनका महत्त्वपूर्ण समय बिताएको नेपालीको छोरो आफ्नो बलबुता र क्षमताले अमेरिकामा प्रगति गर्दै गर्दा वा अमेरिकी राजनीतिमा अघि बढ्दै गर्दा सबैले प्रोत्साहित गरौँ।सबैको आर्थिक भौतिक सहयोग गरौँ।सदभाव र एकतालेनै हामीलाई माथि उठाऊँछ।