छिमेकी राष्ट्र यमनमा सशस्त्र संघर्ष गरिरहेको विद्रोही समूह हुथीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको छ। साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले हुथी विद्रोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको थियो।
हुथी विद्रोही समर्थित टेलिभिजन अल मसिराहले मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको छ। साउदी अरेबियासहितको गठबन्धनले हुथी विद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएका छन्। तर इरानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
प्रत्यक्षदर्शीका अनुसार रियादमा उनीहरूले विस्फोटको आवाज सुनेको बताएका छन्। साथै उनीहरूले धुवाँको मुस्लोसहितको तस्बिर पनि पोस्ट गरेका छन् । विस्फोटबाटहालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको खबर आएको छैन।
आक्रमणपछि इरान र साउदी अरेबियाबीचको आन्तरिक टकराव बढेको छ।