आप्रवासी बोकेर यूरोपतर्फको यात्रा तय गर्दै गरेको एक पानीजहाज शनिबार लिबियाको समुद्री किनारमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने करीब ६० जनालाई पानीबाट उद्धार गरिएको छ।
आप्रवासीहरू उक्त जहाजबाट अर्को जहाजमा चढेर भू–मध्यसागर पार गर्ने क्रममा थिए। यस क्रममा जहाज डुब्न सुरू गरेको थियो। लिबियाको राजधानी ट्रिपोलीबाट करीब ६० किलोमिटर पूर्व गाराबुली भन्ने स्थानमा यो दुर्घटना भएको हो।
सिरिया लगायतका मध्यपूर्वी राष्ट्रहरूमा जारी युद्धका कारण हजारौँ नागरिक मुलुक छाडेर यूरोपतर्फ भाग्ने गरेका छन्।
अन्तर्राष्ट्रिय माइग्रेसन संस्था आइओएमको तथ्याङ्क अनुसार सन् २००० पछिको सत्र वर्षमा भू–मध्यसागर पार गर्ने क्रममा करीब ३३ हजार मानिसको मृत्यु भइसकेको छ। यस सागरबाट यूरोप प्रवेश गर्ने मार्गलाई अत्यन्त कठीन यात्राको रुपमा लिने गरिएको छ।