सिरियन द्वन्द्व लगायतका समसामयिक विषयलाई लिएर साउदी अरब , इजिप्ट र इजरायली नेताहरूसँग राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन वार्ता गरेका छन्।
क्रेमलिनद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ। रुसी राष्ट्रपति पुटिनले सिरियाको द्वन्द्वलाई लिएर साउदी अरेबियाली राजा सलमान बिनसँग छलफल पनि गरेका छन्।
दुई राष्ट्रप्रमुखबीच मध्यपूर्वी क्षेत्र र लामो समयसम्म द्वन्द्व चलेको सिरियाको विषयलाई लिएर छलफल भएको क्रेमलिनले जनाएको छ। पुटिनले इजिप्टेली राष्ट्रपति अब्दुल फत्ताह अल सीसीसँग पनि टेलिफोन वार्ता गरेका थिए।
सिरियामा सन् २०११ को मार्चबाट सुरू भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ। आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ नागरिक आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन्।
यिनै स्थितिको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको अगुवाइमा वार्ता गरिएको थियो। हालसम्म यसबाट समाधान निस्किएको छैन।