गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले आफ्नो कार्यकालका नयाँ कार्ययोजनाको खाका तयार पार्ने काममा तीव्रता दिएको छ।
तीन दिनसम्म चल्ने बैठकको पहिलो दिन भूकम्प पीडितहरूका लागि एनआरएनको महत्वपूर्ण योजनाका रुपमा रहेको लाप्राक , निमार्णाधीन भवन र शंखमुल पार्कका विषयमा महत्वका साथ छलफल अगाडि बढाइएको थियो।
एनआरएनका यी महत्वपूर्ण योजनाहरू कार्यसमितिको प्राथमिकताको पहिलो विषय भएकाले यसलाई कसरी चाडोभन्दा चाडो मूर्त रुप दिने भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा यी परियोजनाका बारेमा कार्य विवरण समेत पेश गरिएको थियो ।
आगामी दुई वर्षमा गर्नुपर्ने कामहरूको योजना तर्जुमाका साथै दोस्रो दिन बैठकमा संगठनका महत्वपूर्ण विषयमा छलफल जारी रहेको प्रवक्ता भुषण घिमिरेले बताए । अध्यक्ष भवन भट्टको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले दोस्रो दिन सदस्यता ,परिचयपत्र,सूचना प्रणाली र विगतका समिति र टास्क फोर्सहरूलाई चलायमान बनाउने विषयमा छलफल भएको छ ।
शुक्रबार तेस्रो दिन कार्यसमितिले आफ्ना ठोस निर्णयहरू तथा आयोजना र परियोजनाका बारेमा निर्णयमा पुग्ने भएको छ । पहिलो पटक एनआरएनले पदाधिकारीको उपस्थितिमा तीन दिने महत्वपूर्ण बैठक आयोजना गरेको हो । ‘हामी जितेर आएपछि सबै साथीभाइको उपस्थितिमा अग्रजहरूको सपना साकार पार्ने र हाम्रा नयाँ कार्ययोजनाहरू तर्जुमा गर्ने सल्लाह बमोजिम तीन दिने बैठकको आयोजना गरिएको हो ।’ भट्टले भने ‘हाम्रो पहिलो प्राथमिकता भनेकै लाप्राक र आफ्नो भवन हो ,त्योसँंगै संगठनलाई संस्थागत बनाउँदै लैजाने अर्को प्रयासको पनि थालनी सुरू गरेका हौं।’
उपाध्यक्ष कुमार पन्त ,महासचिव बद्री केसीले संगठनको प्रभावकारीताका विषयमा तीन दिने बैठक महत्वपूर्ण हुने प्रतिक्रिया दिए ।