एशियाली मुलुकहरूको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दक्षिण कोरिया आइपुगेका थिए। सोही क्रममा उनले आफ्नो पहिलो विशेष सम्बोधन अन्तर्गत कोरियाली संसदमा सम्बोधन गरे। सम्बोधनमा उनले उत्तर कोरिया तथा त्यहाँका सर्वोच्च नेता किम जोन उनविरुद्ध कडा अभिव्यक्तिसमेत दिएका छन्।
संसदमा बोल्दै ट्रम्पले आफूहरूलाई कमजोर आंकलन गरे त्यो उत्तर कोरियाको ठूलो भूल हुने चेतावनी दिएका हुन्। व्यक्तिगत रूपमा नै उत्तर कोरियालाई सम्बोधन गर्दै उनले भने–‘यसरी आणविक हतियारको उन्मादमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदाय तथा अमेरिकासँग टकराव लिनु निकै घातक सिद्ध हुनेछ।’
राष्ट्रपति ट्रम्पले कोरियाली राष्ट्रिय सभामा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको आपसी सम्बन्ध, विगत र वर्तमानका विभिन्न घटनाक्रमको पनि चर्चा गरेका थिए। करीब आधा घण्टाको सम्बोधनमा ट्रम्प साविकभन्दा केही विस्तारै बालेका थिए। तर उनले निकै महत्त्वपूर्ण रूपमा लाक्षणिक भनाइहरू राखेको कोरियाली कानून विश्लेषकहरूले बताएका छन्।
यसैबीच उत्तर कोरियाली आणविक हतियारको चुनौतीबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरीद गर्ने भएको छ। यसबारे बोल्दै ट्रम्पले भने, ‘एशियामा अमेरिकाको प्रमुख सहयोगी रहेको दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना रहेको र युद्धक विमान, क्षेप्यास्त्र वा अन्य हतियार जे भए पनि ठूलो परिमाणमा अमेरिकी हतियार किन्ने सहमति रहेको छ।’ यसै भ्रमणमा दुई देशको अन्य विभिन्न व्यापार सम्झौतामा पनि छलफल भएका थिए।
भ्रमणका क्रममा उनले वर्तमान दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनसँग सियोलमा विशेष भेटवार्ता गरेका थिए। त्यसैगरी कोरियामा रहेको अमेरिकी सैनिकको टोली र कुटनीतिक नियोगका अधिकारीहरूसँग पनि भेटवार्ता गर्दै उनी सैनिक टोलीको भोजमा सहभागी भएका थिए।