एशियाली मुलुकहरूको भ्रमणमा रहेका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दक्षिण कोरिया आइपुगेका छन्।
भ्रमणका क्रममा उनले वर्तमान कोरियाली राष्ट्रपति मुन जेइ–इनसँग सियोलमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी कोरियामा रहेको अमेरिकी सैनिकको टोली र कुटनीतिक नियोगका अधिकारीहरूसँग पनि उनले भेटवार्ता गर्ने छन्।
जापान भ्रमणबाट आइपुगेका राष्ट्रपति ट्रम्प कोरियामा एकदिन मात्र बस्ने बताइएको छ। यस भ्रमणमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच रहेको व्यापार सम्झौता तथा आपसी सम्बन्धहरूको बारेमा छलफल हुने बताइएको छ।
उत्तर कोरियासँग अमेरिकी टकराव बढिरहेको परिस्थितिमा ट्रम्पको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ। यद्यपि उनले अहिलेसम्म उत्तर कोरियाको बारेमा केही बोलेका छैनन्।
ट्रम्पले यसपाली पाँचवटा एशियाली मुलुकहरूको भ्रमण गर्ने क्रार्यक्रम रहेको छ। कोरियाबाट उनी चीन, भियतनाम र फिलिपिन्स जाने कार्यतालिका रहेको छ।