गैरआवासीय नेपाली संघले सन् २००८ मा कुवेतमा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली चेली श्रीमती डोल्मा शेर्पालाई मृत्युदण्डबाट बचाउने अभियान संचालनबारे आएका समाचारहरूबारे स्पष्टोक्ति दिएको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता भूषण घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी स्पष्टोक्ति दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ
‘अन्तर्राष्ट्रिय समन्वय परिषदले विश्वव्यापी रुपमा सन्चालन गरेको अभियानमा सन् २००८ मार्च देखि अक्टोबर महिना भित्र रु. ३७,४९,७४१.६ जम्मा भएको थियो । संकलित रकम मध्ये ब्लडमनीको लागि रु. ३ लाख र रु. १० लाखको गरी दुई वटा चेक परराष्ट्र मन्त्रालयलाई पठाएकोमा एउटा ३ लाखको सटही गरिएको र आवश्यक रकम नेपाल सरकारले संकलन गरिसकेकोले १० लाखको चेक मन्त्रालयले सटही गरेन र संघको खातामा नै रह्यो ।
उक्त संयुक्त प्रयासले डोल्मा शेर्पाले हत्या गरेको भनिएको व्यक्तिको परिवारलाई ब्लड़मनी प्रदान गरियो र उनको मृत्युदण्डको सजाय जेलमा परिणत भयो । हाल उनी जेल सजाय पुरागरी नेपाल फर्की सकेकी छिन् । डोल्मा शेर्पाको ज्यान बचाऊ अभियान पुराभइसकेपछि ८ फेब्रुअरी २००९ मा बसेको १७ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले बाँकी रकम निम्न अनुसार परिचालन गर्ने निर्णय गरेको थियो ।
१. डोल्माको छोराको अध्ययन सहयोगको लागि तीनलाख रुपैयाँको अक्षयकोष संचालन गर्नको लागि प्रदान गर्ने ।
२. बाँकी ३१,४९,७४१.६ रुपैंया संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गर्ने र सोही खालका अन्य राहत कार्यमा प्रयोग गर्ने । सोही निर्णय अनुसार डोल्माको छोरालाई ३ लाख रुपैंया प्रदान गरिएको र बाँकी रकम संघको आपतकालीन कोषमा रहेको छ । संघले यो मात्रै नभएर यस्ता विविध खाले समस्याहरूमा सक्दो मानवीय तथा अन्य आवश्यक सहयोग जुटाउँदै र उपलब्ध गराउँदै आएको छ । यसरी सहयोग जुटाउने क्रममा उठेको रकम तोकिएको कार्यमा खर्च गरी बचेमा संघको आपतकालिन राहत कोषमा राख्ने र आवश्यक पर्दा प्रयोग गर्ने प्रचलन रहेको छ ।’