आधुनिक नेपालको एकीकरणभन्दा पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो। इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो। अहिले पनि सत्ताको लागि दौडधुप गरी रहनेहरूलाई फरक रूपमा चित्रण गर्दा ‘लिगलिगे दौडमा छन्’ भन्ने गरिन्छ।
तर, इतिहासलाई हेर्ने हो भने त्यस बेलाको चलन अनुसार दौड गराएर राजा छान्ने चलन तत्कालीन अवस्था अनुसार प्रजातान्त्रिक र उपयुक्त देखिन्छ। त्यस बेला साना–साना राज्यहरूबीच भई रहने झगडा र लडाइँका कारण राज्यलाई संरक्षण गर्न सक्ने जुक्ति र बल भएका व्यक्तिले राज्यको नेतृत्व गर्नु उपयुक्त हुन्थ्यो। त्यही कारण पनि जो सबैभन्दा फूर्तिलो र सबभन्दा बलियो छ, त्यही व्यक्तिलाई राजाको रूपमा छनोट गर्ने चलन बसेको हुन सक्छ।
दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बने। १३ औं पटकको दौड भने द्रब्यशाहले जिते।
लिगलिगकोट
ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २, आँपपिपल खोल्लीमा पर्दछ। यो स्थल समुद्री सतहदेखि चौध सय मिटर उचाइमा छ।
पहिले लिगलिगकोटलाई ७०० लिगलिग पनि भन्ने गरिन्थ्यो। यसको अर्थ त्यस बेला लिगलिगकोट अन्तर्गत सात सय घर धुरी थिए भन्ने हो। ७०० लिगलिगमा साविक ५ वटा गाविसहरू आँपपिपल, हर्मी, खोप्लाङ, छोप्राक र पालुङटार पर्दथ्यो।
अहिले पनि लिगलिगकोटमा त्यस समयका कालिका मन्दिर, ५ वटा गढी र दरबारका भग्नावशेष छन्, पुरातात्विक महत्व राख्ने स्थान तथा संरचनाहरू बाँकी नै छन्।यद्यपी लिगलिगकोट यो ऐतिहासिक र पुरातात्विक महत्वमा मात्र सीमित छैन, यहाँको संस्कृति तथा यहाँबाट देखिने र अनुभव गर्न सकिने प्राकृतिक सुन्दरता पनि अलौकिक छ। विशेष गरेर बिहानीको सूर्योदय र साँझको सूर्यास्त, मनोरम हिम श्रृंखलाहरूको दृश्यावलोकन यहाँका आकर्षण हुन्।
लिगलिगे दौड
तत्कालीन लिगलिग राज्यको लोकतान्त्रिक पद्धति खेलकुदलाई दिएको महत्व र आफ्नै विशिष्ट संस्कृति ‘लिगलिगे दौड’ द्वारा राज्य सञ्चालित हुने परम्परा बसालेको थियो। त्यो समयमा लिगलिग राज्यमा मात्र राज्य सञ्चालन प्रक्रियामा समान सहभागी हुन पाउने हक अधिकार थियो अनि त्यस प्रक्रियाको परिणामलाई स्वीकार गर्ने एउटा अद्वितीय लोकतान्त्रिक पद्धतिको अभ्यास गरिएको भूमि थियो।
यस सन्दर्भमा के तुलना गर्न सकिन्छ भने हाल विश्वमा प्रजातान्त्रिक मुलुक मानिएका राष्ट्रहरूभन्दा अगावै यस स्थलले लोकतान्त्रिक पद्धतिको विकास गरेको थियो।
दलसुर घले मगरहरूले जित्दै आएको लिगलिगे दौड वि.सं. १६१६ मा लमजुङका राजकुमार द्रव्यशाहले दौडेर (दौडेको हो वा होइन इतिहासका जानकारका आ–आफ्नै धाराण छ ?) लिगलिग राज्य आफ्नो हातमा लिएका थिए। द्रव्यशाहको उदयपश्चात् लिगलिगे दौडको परम्परा अन्त्य हुन गयो।
पछि द्रव्यशाह गोरखा राज्यको गद्दीमा आसिन हुन पुगे र उनैको सन्तान पृथ्वीनारायण शाहले साना राज्यहरूको एकीकरण गरी आधुनिक नेपालको जग बसाले।
यसै कारणले लिगलिगकोटलाई नेपालको उद्गमस्थल मानिन्छ। लिगलिगकोटका यथार्थ र केही भ्रमका बारेमा हामीले प्रश्न र उत्तर शैलीमा केही जानकारीहरू समेट्ने प्रयास गरेका छौं । तथ्य गत प्रमाणलाई स्वीकार्ने तथा भ्रमहरूलाई चिर्ने प्रयास स्वागत योग्य र बहसको विषय बन्न सक्छ।
१) लिगलिगे दौड, के हो?
पहिले: दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि राजा (वाङ) हुने इतिहास हो।
अहिले:लिगलिगकोटको पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलकुदका रूपमा संचालित एक प्रतियोगिता हो।
भोलि:समृद्ध पालुङटार नगरपालिकाको एक मात्र खेलकुदको सांस्कृतिक पर्व (सम्पदा) हुनेछ।
विश्व इतिहासमै खेलकुद प्रतियोगितामा प्रथम भए बापत राज्य नै पुरस्कार दिने एकमात्र चलन हो।
राज्य सञ्चालन प्रक्रियामा समान सहभागी हुन पाउने हक अधिकार प्रदान गरेको र त्यस प्रक्रियाको परिणामलाई स्वीकार गर्ने एउटा अद्वितीय लोकतान्त्रिक पद्धति हो।
२) लिगलिगे दौड, के होइन?
राजा छान्ने दौडका रूपमा प्रचलित भए पनि वंशीय राज शासन परम्पराको इतिहास हैन।
३) लिगलिगे दौड कुन तिथि मितिमा संचालन गरिन्थ्यो?
दसैंको टीकाका दिन लिगलिगे दौड आयोजना गरिन्थ्यो। दसैंको घटस्थापनाका दिनबाट नै लिगलिगकोट कालिका मन्दिरमा झाँक्री (पुजारी) बाट घट्ट थाप्ने तथा विविध सनातनी तान्त्रिक विधिबाट पूजाको सुरूआत हुने गर्छ।
सप्तमीका दिन फूलपाती भित्र्याउने गरिन्छ, भने अष्टमीका दिन कालिकाको विशेष पूजा गरिन्छ। राति १२ बजे कालरात्री गरिन्छ। नवमीमा पञ्च बली दिइन्छ। दशमीका दिन सबै जना जम्मा भएर भनेर भत्यार खाई खुसीयाली मनाई खुला दौडको उद्घोष मूल झाँक्री गुरूबाट गरिन्छ। दौड जित्नेलाई कटुवाल कराएर अर्को एक वर्षका लागि मात्र राजा (वाङ) घोषणा गरिन्छ। नयाँ राजाबाट उपासे (दसैं) घरको जमरा तथा टीका सबै जनतालाई दिइन्छ।
४) लिगलिगे दौड दसैंको समयबाहेक अन्य तिथि मितिमा गर्न सकिन्छ?
सकिँदैन। यदि ऐतिहासिक संस्कृति, सम्पदा तथा परम्पराको औचित्यतालाई आजका दिनमा पनि संरक्षण तथा प्रवर्द्धन गर्ने हो भने दसैंको समयबाहेक मिति परिवर्तन गर्न असम्भव छ।
५) दौड कहाँदेखि कहाँसम्म गरिन्थ्यो?
लिगलिगे दौडको समाप्ती बिन्दु लिगलिगकोट कालिका मन्दिर हो। यो तथ्य अकाट्य छ। तर, सुरूआती बिन्दुको हकमा भने इतिहास लेखनमा विरोधाभाष छ। कसैले मस्र्याङदी र चेपेको दोभानबाट सुरू हुन्थ्यो भनेका छन्। कसैले भुसुन्डी चोरकाटे शिवालयबाट भनेका छन्। कसैले तल्लोकोटबाट भनेका छन्।
६) लिगलिगे दौड कसले जितेका हुन्?
पटक पटक लिगलिगे दौड दलसुर घले मगरले जितेका हुन्। तर, १६१६ मा लमजुङका राजकुमार द्रब्यशाहले दलसुर घलेमगरलाई हराएर लिगलिगकोट रजाइँ गरेका हुन्।
७) के द्रब्यशाहले पनि दौडेर जितेका हुन्?
यसमा विवाद छ। कसैले दौडेर जिते भनेका छन् भने कसैले गणेश पाँडे, गंगाराम रानाहरूको सहकार्यमा दौडका बेलामा आक्रमण गरी घलेमगर राजालाई मारेर लिगलिगकोट रजाइँ गरे भनेका छन्।
८) पाच्यान के हो?
द्रब्यशाहले लिगलिगकोट जितिसकेपछि केही घले मगरहरूलाई लखेट्दै ५ घले मगरलाई मारेकाले पाँच चिहान (पाच्यान) भन्ने गरियो भन्ने छ। तर, मगर भाषाले पच्यङ (पत्रैपत्रको ढुंगा) भन्दै गर्दा अपभ्रंश पाच्यान भएको पनि हुन सक्छ। योभन्दा भिन्न पनि आँपपिपल भञ्ज्याङभन्दा वर रघुवा (रगुवा) मगर भाषाले रगतै रगतको आहाल सत्य नजिक पनि हुन सक्छ। किनकी, गणेश पाण्डेहरूले छोप्राक (द्रब्यशाहलाई छोपेर, लुकाएर राखेको) बाट लिगलिगकोट हान्न द्रब्यशाहलाई ल्याउँदै गर्दा बीच बाटोमा पर्ने ठाउँ रघुवामा सबै मगरहरूलाई मार्दै गर्दा रगतको आहाल बनेको पनि हुन सक्छ।
९) ५ वटा गढी कहिले बनेका हुन्?
सबै गढीहरू घले मगरहरूको पालामा भन्दा पनि केही पछि बनेका हुन सक्छन्। केही पहिल्यै पनि थिए होलान्। द्रब्यशाहले गोरखा राज्य जितेपछि उनका सन्ततीहरूले नेपाल विस्तार गरे। तर, लिगलिगकोटभन्दा पश्चिमको लमजुङ राज्य धेरैपछि मात्र जितेको पाइन्छ। त्यसैले लिगलिगकोट नेपाल राज्यका लागि एक महत्वपूर्ण सामरिक स्थलकोट थियो। सोही समयमा सीमा रेखा सुरक्षाका लागि गढीहरू बने होलान्।
१०) लिगलिगकोट दरबार थियो?
अवश्य लिगलिगकोटमा दरबार थियो। गोरखापछि नेपाल राज्यमा शाहवंशको शासन सुरू भएपछि पनि पटक पटक लिगलिगकोट कहिले नेपाल त कहिले चौबिसे लमजुङे राज्यको झिनाझम्टी परिरह्यो।
पृथ्वीपति शाहको पालामा समेत लमजुङेले चौबीसीहरूसँग बल मागेर लिगलिग, लकाङ, धुवाकोट, देउराली कब्जा गरी ९ वर्षसम्म अधीनमा लिँदा ११ पटक लडाइँ खोल्दा पनि गोरखाले लिगलिगफिर्ता लिन सकेन। त्यसपछि बाह्र वर्षमाथि असी वर्ष मुनिका सारा गोरखाली जम्मा गरेर रातिको समयमा गई लिगलिगकोटको गढीमा आगो लगायो र लिगलिग फिर्ता लियो। फेरि लमजुङेले लिगलिगकोट चार वर्ष लिए। गौरेश्वर पन्थ, बलिपाध्याय कडरियाले लिगलिग पुनः गोरखामै फिर्ता ल्याए।
सोही आगलागीमा लिगलिगकोटको दरबार नष्ट भएको हुनुपर्छ। लिगलिगकोटको मूल दरबार भएको गढीमा हालसालै छानाका झिंगटीहरू प्रशस्तै भेटिएकाले पनि दरबार भएको पुष्टि हुन आउँछ।
११) लिगलिगे दौड जितेका घले मगर राजा तथा द्रब्यशाहले पछिल्लो शाह राजाहरूले लगाएको जस्तो 'श्रीपेच' लगाए होलान्?
पक्कै पनि नलगाएको हुन सक्छ। राजेन्द्र विक्रम शाहको पालामा आएर मात्र श्रीपेच शाहवंशका राजाहरूले लगाएको इतिहास छ। यसैले पनि उनीभन्दा अगाडिका राजाहरूले श्रीपेच नलगाएको हुनसक्छ। बरू, घले मगरहरूको आदिवासी जनजातीय हिसाबको परम्परागत 'पगरी' लगाउन सक्छन् भन्ने हो।
१२) लिगलिगकोट कालिका मन्दिरको उत्पत्ति कसरी हुन गयो ?
किम्बदन्ती अनुसार स्थानीय किसानले हलोले जोत्ने क्रममा एक पत्थरमा हलो अड्किन गयो र केही समयमा त्यस ठाउँमा रगत बग्न थाल्यो। किसान के कसो भयो होला? भनी आफ्नो घर फर्किन्छन्। त्यही राति सपनामा कालिका आई देवीको थान स्थापना गरी पूजा सुरू गर्ने आदेश दिइन्। त्यसपछि थानको निर्माण गरी पूजा गर्ने परम्परा सुरू भयो।
कालान्तरमा लिगलिगकोट कालिका गुठीको स्थापना गरी बिजुली थोक मुखियाको रेखदेखमा बानादार, मेक्चन, नगरा मोर्होने सार्की, पुजारी, पुरेत, कटुवाल लगायतको गुठीयारहरू समेत नियुक्ति गरी निरन्तर संचालन गरियो।
लिगलिगकोट कालिका मन्दिरको छाना हाल्न नहुने परम्परा छ। सुरूका दिनमा दिनभरी लगाएर छाना राखे पनि भोलिपल्ट छाना फालिएको अवस्था हुन्थ्यो भन्ने आस्था राखिन्छ।
१३) अन्य कोटहरूमा जस्तै लिगलिगकोटमा सुँगुर बली दिइन्छ?
लिगलिगकोट कालिकामा पनि कालिकालाई कुखुराको बली चढ्दैन। स्थानीयहरूले कालिकालाई भाके पनि पूजाका बेलामा सँगै रहेको भैरव(?) लाई चढाइन्छ। त्यस्तै, गरी लिगलिगकोट कालिका गुठीका अन्तिम जिम्मावल टीकाबहादुर रानामगरले गुठी संस्थानमा बुझाएको लगतको खर्च विवरणमा सुँगुरको खर्च समेत समावेश गरेका छन्।
स्थानीय बुढापाकाहरू पनि मूल कोटमा सुँगुरको बिर पाठोले पूजा गर्थे भन्छन्। तसर्थ, लिगलिगकोटमा पनि सुँगुरको बिर पाठोबाट पूजा भएको हुन सक्छ।
१४) लिगलिगकोट र हनुमान ढोकाको फूलपातीको सम्बन्ध के हो?
दसैंको सप्तमीका दिन फूलपातीको बिहान लिगलिगकोटबाट गोरखा कालिका मन्दिरमा लगेको फूलपाती मिसाएपछि मात्र गोरखा कालिकाबाट काठमाडौं हनुमान ढोकामा फूलपाती लग्ने चलन छ। आधुनिक नेपालको राजधानी काठमाडौंको हनुमानढोकाले लिगलिगकोटलाई नेपालको उद्गमथलो मान्नुको कारण यो चलन पनि हुन सक्छ। 'छोप्राकीले फूलपाती हेरेजस्तो' भन्ने उखान हाम्रो समाजमा चलेजस्तै लिगलिगकोटको फूलपाती भव्य हुने गर्थ्यो भन्न सकिन्छ।
(लेखक लिगलिगकोट विकास अभियानका अध्यक्ष हुन्।)