डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ फोक्सुन्डो ताल। छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल। बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिन्छ ताल। काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ। यसको अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ।
आकाश निलो हुँदा तालको पानी पनि निलो देखिन्छ। बादल मडारिँदा ताल पनि कालै बन्छ। सूर्यास्तका बेला रंगीन रूप हुन्छ। आकाशको रंगअनुसार तालले आफ्नो रूप बदलिरहन्छ।
तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन। त्यहाँ डुंगा चढ्ने सुविधा छैन। आँखा नझिम्क्याई हेरिरहन भने पाइन्छ। जति हेरे पनि आँखा थाक्दैनन्। आँखाभरि, मनभरि सजाइरहन मन लाग्छ। ताललाई छोडेर फर्कन मन लाग्दैन।
वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ। फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन। डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रा गरेपछि मात्र तालमा पाइला टेक्न सकिन्छ। ताल किनारामा रिग्म गाउँ, गुम्बा, चैत्य आदि छन्।
तालबाट अढाई घन्टा पदयात्रा गरेर भ्यू पोइन्ट पुगेमा फोक्सुण्डोको बेग्लै स्वरूप देखिन्छ। तालको निकासबाट बग्ने खोलालाई फोक्सुण्डो खोला भनिन्छ । खोलामा चित्ताकर्षक छाँगो छ जसलाई फोक्सुण्डो झरना भनिन्छ। पदमार्गबाटै झरनासँग आँखा जुधाउन मिल्छ। फोक्सुण्डो खोला सुलिगाड पुगेपछि ठूली भेरीमा मिसिन्छ। सुलिगाडबाट २७ किमि पदमार्गमा ताल पुगिन्छ।
रिग्म गाउँ
ताल किनाराको रिग्म गाउँ पदयात्रीहरूको बासस्थान हो। डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्ममा बास बस्छन्। गाउँमा ६५ घर छन् जहाँ ११ वटा होटल सञ्चालित छन्।
गाउँमा भोटे समुदायका लामा, बुढा, बैजी र गुरूङको बसोबास छ। त्यहाँ आलु, फापर, गहुँ र तोरी उत्पादन हुन्छ। तरकारीमा काउली, बन्दा, गाजर, साग फलाइन्छ । पशुपालनमा चौंरी, बाख्रा र कुखुरा पालिन्छ।
गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल। गाउँमा गुम्बा, चैत्य र मानेहरू छन् ।
त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ। उनीहरूको संस्कृति र रितिथिति छ । लोसार उनीहरूको प्रमुख चाड हो।
गाउँमा पुस–माघमा बाक्लो हिउँ पर्छ । हिउँ पर्नुअगाडि नै गाउँलेहरू बेंसीतिर झर्छन् ।
दुई रात रिग्म गाउँमा बसेर फोक्सुण्डोको सौन्दर्यपान गर्नु उत्तम हुन्छ । गाउँमा बिजुली सुविधा छैन, सौर्य ऊर्जाको उज्यालो छ।
मोबाइल फोन चल्छ। रिग्ममा केही होटल छन्। त्यसो त सडकमार्गबाट सुलिगाड पुगेर पदयात्रा गर्दा होस् या जुफालसम्म उडेर यात्रा गर्दा सबैतिर मध्यम खालका होटल पाइन्छ। त्यसैले ‘टि हाउस ट्रेकिङ’ सम्भव छ ।
रिग्म गाउँबाट दुई दिनको पदयात्रामा प्रसिद्ध शे–गुम्बा पुगिन्छ भने तीन दिन हिँडेमा बगला भञ्ज्याङ र नुमला भञ्ज्याङ पार गरेर धो–तराप भ्याली (४,२०० मिटर) पुगिन्छ।
बोन धर्म
डोल्पामा युङढुङ् बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रर्वतक तोन्पा शेन्राव मिवो हुन् जुन धर्म १८ हजार ३८ वर्षअघि सुरू भएको थियो। संसारका सबै प्राणीलाई सबै खाले दुःखहरूबाट रक्षा गर्ने धर्मलाई युङढुङ् बोन धर्म भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ ।
समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। उनी स्याङ्स्युङ राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मिएका थिए।
जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करूणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश संग्रह गरिएका १४० पुस्तक छन् जसलाई ‘काङग्युर’ भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीन सय शास्त्र रचिएका छन्, तिनलाई ‘कातेन’ भनिन्छ।
बोन धर्म अभ्यास गर्नेहरूलाई बोन्पो भनिन्छ। अन्य बौद्धमार्गीहरू माने घुमाउँदा ‘ओम माने पेमे हुँ’ भन्छन् । तर, बोन धर्मावलम्बीहरू ‘ओम मा ट्रि मु ये सा ले दु’ भन्छन् । बोन्पोहरू मा ट्रि, गुम्बा र चैत्यलाई देब्रे पारेर घुम्छन्।
फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ। हिमाली भेगमा यस्ता धेरै प्राचीन गुम्बा छन् । बोन बुद्धिस्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा) का अनुसार डोल्पा, मुस्ताङ, हुम्ला, जुम्ला, बागलुङ, मुगु, कास्की, चितवन र काठमाडौंमा बोन्पोको उल्लेख्य बसोबास छ। डोल्पामा मात्र साना–ठूला गरी तीन दर्जन भन्दा बढी बोन गुम्बा छन् । त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ।
काठमाडौंको इचंगुनारायण, तीनघरेमा पनि बोन गुम्बा छ । गुरू योङजीन रिम्पोचेले ३६ वर्षअघि स्थापना गरेको त्रितेन नोर्बुचे गुम्बामा बोन धर्म सम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाइ हुन्छ । यस्तो कोर्ष पुरा गर्नेलाई ‘गेसे’ भनिन्छ। यसका लागि कम्तीमा १५ वर्ष पढ्नु पर्छ ।
इतिहास हेर्ने हो भने स्याङस्युङ राज्य आठौं शताब्दीसम्म दक्षिण एसियाका ठूला र शक्तिशाली राज्यमा गनिन्थ्यो। भोटका पहिलो राजा न्याठी चेन्पोदेखि ३२ औं राजा नाम्री स्रोङ्चेनसम्म भोटमा बोन धर्मले व्यापकता पाएको देखिन्छ ।
राजा श्रङचङ गोम्पोदेखि बुद्ध धर्म भोटमा विस्तार हुन थालेको हो । भोटका राजा ठिसोङ देचेनका पालामा बोन धर्ममा धेरै उतारचढाव आयो । त्यसपछि क्रमशः धेरै बोन धर्मावलम्बी भोटबाट विभिन्न ठाउँमा पुगे।
बोन धर्मका संस्थापक मिवो धर्म प्रचार गर्न नेपाल आएको पाइन्छ । त्यसैले प्राचीन समयदेखि नै नेपालमा बोन धर्मको अभ्यास भएको पाइन्छ।
नेपालको हिमाली भेकका कतिपय प्राचीन गुम्बा, माने र चैत्यहरू जीर्ण छन् । तिनको संरक्षणमा राज्यले लगानी गर्नुपर्छ।
खाना र बास
पदमार्गमा सबैतिर खाना र बास सुविधा पाइन्छ। माथि ताल किनाराको रिग्म गाउँमा ११ वटा होटल छन् जहाँ सादा खानाको ४०० रुपैयाँ पर्छ भने डबल बेड भएको कोठाको १००० रूपैयाँ।
सम्पर्कः
निमा लामा–९८५१०३४०१८, शे–फोक्सुन्डो गाउँपालिका–८ का वडाध्यक्ष एवं होटल व्यवसायी
कसरी पुग्ने?
काठमाडौं–नेपालगञ्ज–जाजरकोट–डोल्पा सडक यात्रा, बसमा। जाजरकोट–डोल्पा सदरमुकाम दुनै ११८ किमि कच्ची सडक। कोहलपुरबाट छिन्चु–जाजरकोट–दुनै ३११ किमी। काठमाडौंबाट जाजरकोट भएर रूकुम (पश्चिम) को राडीज्यूला हुँदै तल्लुसम्म सोझै बस चल्छन्। तल्लुबाट जीप परिवर्तन गरेर सुलिगाड पुग्नुपर्छ। दुनै पुग्नु २ किमि वरै सुलिगाडबाट फोक्सुन्डो पदमार्ग सुरू हुन्छ। हवाईयात्रा गर्दा काठमाडौं–नेपालगञ्ज ५५ मिनेट। नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाईयात्रा। जुफाल–सुलिगाड ८ किमि जीपमा। सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोक्सुन्डो ताल।
टिप्स
- ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्दछ। तर, तालको नाम ‘फोक्सुन्डो’ हो, ‘शे फोक्सुन्डो’ होइन। त्यस्तै ताल किनाराको बस्तीको नाम ‘रिग्म’ हो, ‘रिग्मो’ होइन।
- फोक्सुन्डो क्षेत्रमा वोन धर्मावलम्बीको बसोबास छ। उनीहरु माने, चैत्य वा गुम्बालाई दाहिने पारेर होइन, देब्रे पारेर घुम्छन्। त्यसैले घुमन्तेहरुले पनि देब्रे पारेर घुम्नु राम्रो हुन्छ।
- चिसो ठाउँ भएकाले न्याना कपडा, सजिलो जुत्ता, लौरो, टर्चलाइट, थर्मस, पानी बोतल लगायत सामान बोक्नुपर्छ। अत्यावश्यक औषधि, जीवनजल, सिटामोल आदि बोक्ने।
- पदमार्गमा ठाउँठाउँमा होटल सुविधा भएकाले ड्राई फुड्स बोकिराख्नु पर्दैन, होटलहरुमै ताजा सुप र ताजा खानेकुरा किनेर खाने।
- स्थानीय कला, संस्कृती, जीवनशैली, खानपिन र संस्कारको सम्मान गर्ने। गाउँलेसँग जाती, राजनीति र धर्मका विषयमा वादविवाद नगर्ने।
- हिमाली भेगको यात्रामा हतार नगर्ने, पानी पिउँदै, आराम गर्दै हिँड्ने। घाम नडुब्दै बासस्थलमा पुग्ने। साँझ १० बजेभित्र सुतिसक्ने।
थप तस्बिरहरू