पर्सा राष्ट्रिय निकुञ्ज पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउन तल्लिन देखिएको छ।
पर्सा, बारा र मकवानपुर जिल्लाको वन क्षेत्रलाई समेटेर निकुञ्ज घोषणा भएपछि यो क्षेत्रमा पर्यापर्यटनको प्रवर्द्धनलाई रणनीतिक योजना अन्तर्गत अघि बढाइएको हो।
सरकारले पर्सा आरक्षलाई निकुञ्ज घोषणा गरेको एक वर्ष नबित्दै निकुञ्ज व्यवस्थापन पर्यटक भित्र्याउने योजनामा लागेको छ। पर्सा आरक्षलाई मन्त्रिपरिषद्को बैठकले गत वैशाख २५ गते राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेको थियो। यो २ नम्बर प्रदेशकै लागि एक मात्र राष्ट्रिय निकुञ्जको रूपमा रहेकाले पर्यटकीय आकर्षणको थलो र आम्दानीको स्रोतलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको सरोकारवाला नै बताउँछन्।
पर्यावरणीय पक्षको जगेर्ना गर्दै निकुञ्जलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन्।
निकुञ्जको प्रमुख आकर्षण मानिएका वन्यजन्तुको सङ्ख्या वृद्धिका लागि बासस्थान सुधार, लोपोन्मुख वन्यजन्तुको संरक्षण र घाँसेमैदान व्यवस्थापनलाई योजनाबद्ध तरिकाले अघि बढाइएको छ। जङ्गली हात्तीको मुख्य बासस्थानको रूपमा चिनिएको निकुञ्जमा पछिल्ला वर्षदेखि पाटेबाघ र गैडाको सङ्ख्या पनि बढ्दै गएको छ। निकुञ्जले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा पनि संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्तीको सङ्ख्या ६५ छ।
सन् २०१३ को गणनामा ७ वटा रहेको बाघको सङ्ख्या आउँदो गणनामा ३ गुणाले वृद्धि हुने विश्वास निकुञ्जले लिएको छ। ६ सय २७ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको पर्सा निकुञ्जमा १ सय ५ वटा भन्दा बढी गौरीगाई र ३ देखि ५ वटासम्म एकसिङ्गे गैंडा समेत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
निकुञ्ज घोषणा भएपछि पर्यटक आगमन पनि बढेको छ। गत वर्ष ३ सय पर्यटक आएकोमा चालू आर्थिक वर्षको ८ महिनामै ३ सय ७ पुगिसकेको छ। यो सख्या अपेक्षित नभए पनि पर्यटकीय आकर्षणको प्रचार प्रसार र आसपासका क्षेत्रलाई समेटेर प्याकेज बनाउने राम्रो सम्भावना भएको निकुञ्ज प्रमख आचार्यको भनाइ छ।
३२ प्रजातिका स्तनधारी जनावर, ३ सय ७१ प्रजातिका चराचुरुङ्गी, ३१ प्रजातिका पुतली र १० प्रजातिका सरीसर्पले निकुञ्जका पर्यटकीय आकर्षण बढाएको छ। पर्यटकलाई आवगमन र दृष्यावलोकनमा सहजताका लागि वनपथको स्तरोन्नति र मचान निर्माणलाई तीव्र तुल्याइएको छ। निकुञ्जभित्र गत वर्ष मात्र १ सय ६० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो।