चार वर्ष मात्र भयो टम हेनोक्स नेपाल छिरेको। पहिलो भ्रमणमै सुनेको नेपाल देखेको नेपालमा फरक पाएछन् टमले। घुम्दै जाँदा नेपालीको सत्कार र सद्भाव अनि हाम्रा डाँडाकाँडा र खोलानाला देखेर टम तीन छक्क परेछन्।
फ्रान्सको नान्समा जन्मेर हुर्केका टमलाई नेपालले साँच्चीकै मोहनी लगाएछ। त्यसपछि उनी दोस्रो पटक नेपाल गए, तेस्रो पटक। वर्षेनी जाँदै आउँदै गर्दा नेपाली माटो र गाउँघरको बाटोले उनलाई उतै तान्न थालेछ। फ्रान्सेली गोरा टम तर नेपाली भाषा बोल्छन् ठमठम।
सन २०१४ को मार्चमा पहिलो पटक नेपाल पुगे। एक जना फ्रेन्च बहिनीले उनलाई घुम्ने हो भने नेपाल जानू भनेर सल्लाह दिएकी रैछन्। घुमघाम गरे, नेपालका हिमाल, खोलानाला, वन जंगल र डाडाँ काडामा मन बस्यो। आउने जाने गरिरहे। उनलाई नेपालको सोन्दर्यता र नेपालीको सत्कारले यति छोयो की नेपाललाई नै कर्मथलो बनाउने निधो गरे।
नुवाकोटको चौघडामा चार रोपनी जग्गा लिजमा लिएर अर्गानिक खेती सुरू गरे टमले। आलु, बन्दा,काउली, गोलभेँडाजस्ता सिजनका तरकारी र फलफूल रोपेर गाउँबेसी गर्न थाले उतै। कहिले छ महिनाको बिजनेस भिसा त केहिले तीन महिना थप्दै टम नेपालकै गामबेसीमा रमाउन थाले।
एउटा घर र बारी उनका लागि नेपाल बस्ने बहाना थियो। कम्पोष्ट मल बनाउने र त्यसको प्रयोगबाट अर्गानिक खेती गर्ने उनको युरेका अर्गानिक ल्यान्ड अहिले पनि नेपालमै छ। तर खल्ती रित्तिन थालेपछि टम केही महिनाका लागि अस्ट्रेलियाको सिड्नी आइपुगेका छन् डलर कमाउन।
ट्रेडी पेशामा रमाउने टम भन्छन्, ‘पन्ध्र बीस लाख जम्मा पारेर फेरि नेपाल फिर्छु।’
अहिले गाउँकै दुई बहिनीहरू लक्ष्मी र कल्पनाले उनको अर्गानिक ल्यान्ड रेखदेख गरिरहेका छन्।
नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने टम भन्छन्,‘संसारकै राम्रो देशमध्ये एक नेपाल हो। म त फ्रान्समा जन्मिए तर नेपालले भिसा दिन्छ भने जिन्दगीभर नेपाल बस्न चाहन्छु।’
केही फरक टोनमा मिठो नेपाली बोल्ने टमलाई सिड्नीमा भेट्दै गर्दा उनी पैसा कमाउने जोहोमा व्यस्त थिए। यहाँ फ्रान्सभन्दा बढी पैसा छ त्यसैले अलि बढी कमाइ हुन्छ भनेर यता आएको।’
‘मेरो फेरि पनि उद्देश्य भनेको नेपाल जानु हो, त्यहाँको गाउँबेसी अनि हिमाल पहाडमा रमाउन जति मज्जा मलाई केहीमा आउँदैन,’ उनले भने। उनले १५ वर्षका लागि भाडामा जग्गा लिएका रहेछन्।
तीन वर्ष भयो १२ वर्ष बाँकी छ उनलाई चौघोडामा धेरै कुरा गर्न मन छ। ‘पैसाले साथ दिएमा गाउँलेको सहयोग गर्न चाहन्छु’ उनले भने।
यी फ्रान्सेली टमसँग नेपाल जानुको कुनै मिशन छैन। हाम्रो आतिथ्य र मुलुकको सोन्दर्यताले यिनलाई मोहित बनाएको मात्र हो। चौघडा बासीले टमलाई नयाँ नाम दिएका छन् त्यो हो समिर। उनलाई गाउँमा समिर भनेर बोलाइने बताए। मलाई नेपाली नाम साथीभाइ र छरछिमेकीले राखिदिएका हुन्।
सिड्नीको व्यस्त बजारमा भेटिएका टमलाई नेपालका सन्दर्भमा प्रश्न गर्दा उनी भन्छन्, ‘बाटो, सार्वजनिक यातायात र रोजगारीको अवसर राज्यले सृजना गरिदिनुपर्छ, नेपाल स्वीट्जरल्यान्डभन्दा कम हुँदैन। उनलाई नेपालमा मन नपरेको एउटा कुरा भनेको नेपाल बन्द रैछ । ‘बन्द गर्ने काम कसैले गर्नु हुन्न यसले हानि मात्र गर्छ नाफा कसैलाई गर्दैन,’ उनले भने।