‘सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ’ भन्ने नारा सहित पोखरमा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ। रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत १८ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ।
महोत्सवको सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे। पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ। विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका छन्।
खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने छन्। महोत्सवलाई लक्षित गरी लेकसाईड क्षेत्रलाई दुलहीझैँ सिगारिएको छ।
१७ गतेसम्म संचालन हुने महोत्सव स्थल विवाह घरजस्तै रङगीचङगी भएको छ। महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरुमा रङगरोगन गरिएको छ भने रङगीचङगी ध्वजा पताका टाँगेर सिँगारिएको छ। अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेको छ।
नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई सिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजक रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए। पाँचदिने सडक महोत्सवमा जापान, चीन, दक्षिण कोरिया र भारतका साँस्कृतिक कार्यक्रमका साथ सातवटै प्रदेशका साँस्कृतिक समूहको नृत्य प्रस्तुती रहने छ।
प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने आयोजकले जनाएको छ।
त्यसैगरी छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन्। सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सवस्थलमा गरी झन्डै ५० करोड रुपैयाँ कारोबार हुने आयोजकको अनुमान छ।