डेनमार्कका नेपालीलाई यहाँको स्थानीय चुनावबारे चासो र चटारो यसपाली जति बिगतमा कहिल्यै पनि भएको थिएन। स्थानीय राजनीतिमा यहाँस्थित प्रवासी नेपालीको सरोकार र सक्रियताले यसपाली नयाँ रुप र गति लिएको छ। यसो हुनुमा स्थानीय निकायमा एक नेपाली युवाको उम्मेदवारी कारक छ।
डेनमार्कको राजनीतिमा उदाएका नेपाली युवा हरिप्रसाद न्यौपानेको कोपनहेगन वडा नम्बर ६ विस्पेबिया क्षेत्रबाट परेको उम्मेद्वारीले नेपालीलाई पहिलेभन्दा फरक र विशेष किसिमले डेनिस राजनीतिमा तानेको छ। आप्रवासीको हक र हितका प्रमुख मुद्धा बोकेर चुनावी मैदानमा रहेका न्यौपानेलाई स्थानीय जनप्रतिनिधिमा जिताउने अभियानमा यहाँको नेपाली समाज सकृय भएको छ।
न्यौपाने अचेल निकै बेफुर्सदी छन्। हरेक दिनजसो विभिन्न समुदायसँग भेटघाट र बैठकहरुमा कुदाकुद छ। शनिबार साँझ मध्य कोपन्हेगनको नोरेब्रोमा केही नेपाली संघ-संस्थाका प्रतिनिधि सहित भेटिएका न्यौपानेले चुनावी प्रचारप्रसार अभियान तीब्र रुपमा चलेको जानकारी दिए।
आगामी नोभेम्बर २१ तारिखमा हुने चुनावमा पत्रमार्फत भोट हाल्नेका लागि अक्टोबर १० तारिखदेखि नै ढोका खुल्ने उनले पुन: स्मरण गराए- ‘अक्टोबर १० बाट कोपनहेगनको Nyropsgade 1, 1602 København मा रहेको Citizen Service Center मा CPR वा तस्वीर सहितको परिचयपत्र बोकेर आफ्नो घरको पत्र मंजुसामा भेटिएको चिठी लगि भोट हाल्न सकिने व्यवस्था भएकोले सो सुविधालाई सदुपयोग गर्न सकिने छ।" मतपत्रको सुरुमै रहेको पार्टी, सोसल डेमोक्रेट्सको ३५ नम्बरमा न्यौपानेको नाम भएको र नामको अघिल्तिरको बक्समा क्रस गरि मत जाहेर गर्नु पर्ने उनले प्रष्ट पारे।
चुनावी अभियान र प्रचारप्रसारका लागि बिभिन्न समिति निर्माण गरेका न्यौपानेले कोपन्हेगनका योग्य मतदाता नेपालीको भोटलाई खेर जान नदिने हो भने सम्भावित बिदेशी मतदाताको भोट समेतका आधारमा जित हात पर्ने सम्भावना अधिक देखेका छन्। भन्छन- सम्भावित भोट खेर जान र बदर हुन दिनु चाहिं भएन।
केही हजार थान प्रचार सामग्री सहित बिभिन्न नेपाली संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई समेत समेटेर चुनावी अभियानमा लम्किएका न्यौपाने बिदेशी राजनीतिज्ञ र अन्य क्षेत्रका उम्मेदवारहरुसंग पनि सहकार्य गर्दै अगाडी बढेका छन्। उनका राजनीतिक पृष्ठभूमि र एजेन्डा बुझेका डेनिस र अन्य बिदेशीले समेत उनलाई साथ् दिने बिश्वास दिलाएका छन्।
आप्रवासी र एकीकरण, हाउजिङ्ग अनि प्राकृतिक, सामाजिक र आर्थिक स्थीरता न्यौपानेका सजीव मुद्दाहरू हुन्।
हृदयमा आप्रवासी हितका सवाल र नसामा राजनीतिको सन्चार लिएर हिंडेका न्यौपाने सेतोपाटीसंग भन्दै थिए- हार्छु जस्तो त लागेकै छैन; तैपनि लौ चुनाव हारें रे भन्दैमा नसामा बगेको राजनीति र मनले रोजेका/बोकेका राजनीतिक मुद्धा त कहाँ छोड्छु र?