बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर–९ मल्म बडागाउँमा शुक्रबार बिहान अविरल वर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु भएको छ । बिहान करीब २ बजेको समयमा घर पछाडिपट्टीको गारो भत्किदाँ पुरिएर ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
बिहिबार राति ११ बजेसम्म नाति विवेक नजिकैको आफन्तकहाँ टेलिभिजन हेरेर फर्केका थिए । बिहान अबेरसम्म पनि घरमा दुवैजना नउठेको देखेपछि आफन्तले हेर्ने क्रममा पुरिएको अवस्थामा देखेको स्थानीयले बताएका छन् ।
स्थानीय र प्रहरीको सहयोगमा मृतकको लास निकालिएको थियो । उनीहरुको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ । यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहत स्वरुप ३० हजार प्रदान गरेको छ । घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहत स्वरुप ३० हजार रुपैयाँ प्रदान गर्ने जानकारी दिए । विकको घरमा जयलालसहित उनका नाति बस्दै आइरहेका थिए ।