गत भदौमा आएको विनाशकारी बाढीपहिरोले पुर्याएको क्षतिको बीमा रकम भुक्तानीले अझै गति लिन सकेको छैन। सो बाढीबाट चलअचल सम्पत्तिमा क्षति भएको भन्दै विभिन्न बीमा कम्पनीमा परेको कुल दाबीको करीब १० प्रतिशत रकम मात्र भुक्तानी भएको तथ्याङ्कले देखाएको छ। बीमा समितिको तथ्याङ्कअनुसार एक दर्जन कम्पनीले अझै भुक्तानी दिन शुरूसमेत गरेका छैनन्। यो खबर ममता थापाले आजको आर्थिक अभियानमा लेखेकी छन्।
बाढीपहिरोले पुर्याएको क्षतिको विवरणसहित हालसम्म ७ सय १० जनाबाट रू. २ अर्ब २५ करोडको दाबी परेको समितिको तथ्याङ्क छ। त्यसमध्ये जम्मा ४५ जनाको रू. २ करोड ६४ लाख मात्र भुक्तानी भएको बीमा समितिले उल्लेख गरेको छ। समितिले प्रकाशन गरेको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार १६ ओटै निर्जीवन बीमा कम्पनीमा दाबी पर्न आए पनि चारओटा कम्पनीले मात्र भुक्तानी दिन थालेका छन्।
करीब २ महीना बितिसक्दा पनि क्षतिको दाबी भुक्तानी शुरू नहुनुलाई कतिपयले बीमा कम्पनीको ढिलासुस्तीका रूपमा लिएका छन्। बीमा कम्पनीहरूले भने आवश्यक प्रक्रिया र कागजात पुगेर आएका दाबीको भुक्तानी धमाधम दिइरहेको बताएका छन्। ‘कागजात नपुगेका र सर्वेयरको प्रतिवेदन प्राप्त नभएका दाबीको भुक्तानी मात्र शुरू हुन सकेको छैन,’ एक बीमकले अभियानसँग भने। बीमा नियमावली २०४९ ले तोकेको प्रक्रिया पूरा गर्न नै १ महीनाभन्दा बढी लाग्ने भएकाले कम्पनीलाई दोष दिनु उचित नहुने उनको भनाइ छ।
नियमावलीअनुसार दाबीका लागि आवश्यक कागजातसहित निवेदन प्राप्त भएको ३५ दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्छ।
प्राप्त प्रमाण र क्षतिको प्रारम्भिक निरीक्षणसमेत गर्नुपर्ने र स्वतन्त्र सर्वेयरबाट प्रमाणित गराउनुपर्ने भएकाले केही भुक्तानी ढिलो शुरू हुनु स्वाभाविक भएको समितिले जानकारी दिएको छ। समितिका अनुसार २०७२ को भूकम्पको तुलनामा बाढीपहिरोको बीमा दाबी र सोको भुक्तानी धेरै र छिटो भएको छ। यद्यपि, नियमावलीको व्यवस्थाअनुसार दाबी परेको ३५ दिनमा भुक्तानी गरिसक्नु पर्नेमा समितिले जोड दिएको छ।
कतिपय कम्पनीले भने नियमावलीको प्रावधानअनुसार समयमा नै सर्वेयर नियुक्त नगरेकाले भुक्तानीमा ढिला भएको पीडितको गुनासो छ। कम्पनीबाट नियुक्त सर्वेयरले घटनास्थल पुगेर क्षतिको आकलन र प्रमाण सङ्कलन गरेर १५ दिनभित्र प्रतिवेदन दिनुपर्ने व्यवस्था छ।
हालसम्म दाबी भुक्तानी शुरू नगरेका कम्पनीले भने बीमितबाट सबै कागजात आइनपुगेकाले भुक्तानीमा ढिलाइ भएको बताएका छन्। केहीले भने सर्वेयरको रिपोर्ट आइनसकेकाले भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको बताएका छन्।
भुक्तानी शुरू गर्न नसकेको हिमालयन जनरल इन्स्योरेन्स स्रोतले बीमितले सबै कागजात नबुझाएकाले ढिला भएको बताएको छ। ‘सबै कागजात बुझाउनेलाई भुक्तानी दिने प्रक्रिया शुरू गर्न थालेका छौं भने अरूलाई थप कागजात जुटाउन अनुरोध गरेका छौं,’ स्रोतले भन्यो।
भुक्तानी शुरू गरेको नेशनल इन्स्योरेन्समा ७८ जनाबाट रू. ३३ करोड १४ लाखको दाबी परेकोमा २२ जनाको रू. २४ लाख ८७ हजार भुक्तानी भएको छ। त्यसैगरी युनाइटेड इन्स्योरेन्समा ३७ जनाबाट ७ करोड २८ लाखको दाबी परेकोमा १ जनाको ६३ लाख २१ हजार भुक्तानी भएको देखिएको छ।
यस्तै, सगरमाथा इन्स्योरेन्सले कुल दाबी रकम रू. १३ करोड २७ लाखमध्ये ५० लाख मात्र भुक्तानी गरेको छ। शिखर इन्स्योरेन्समा ७० जनाबाट ३० करोडभन्दा बढीको दाबी परेकोमा ८ जनाको २ लाख ८५ हजार मात्र भुक्तानी भएको छ। त्यसैगरी ४२ लाख ५४ हजार भुक्तानी गरेको लुम्बिनी जनरल इन्स्योरेन्समा ९ करोड ९८ लाखको दाबी परेको छ।