नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन्।
गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे-हुर्केको भए पनि भावनात्मक सम्बन्ध भने कोसौं टाढाको जस्तो छ। भिन्न पृष्ठभूमिबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा जोडिएका यी दुवै नेता कुनै बेला एकै पार्टीमा पनि रहे। तैपनि, उनीहरूको सम्बन्ध बुझिनसक्नु विचित्र खालको मात्र रहन पुग्यो। एकै पार्टीमा रहँदा पनि एकले-अर्कोलाई स्विकार्न नसक्ने, सधैंका प्रतिस्पर्धी जस्तै थिए-डा.भट्टराई र श्रेष्ठ। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।
राजनीतिक लाइन, प्रवृत्ति, सोच्ने तरिका एकै खालको भए पनि यी दुई नेतालाई प्रतिस्पर्धी बनाइराख्न माओवादी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलेको भट्टराईसँग एक समय सँगै रहेर काम गरेका नेता खिमलाल देवकोटा बताउँछन्।अहिले भने यी दुवै नेता फरक पार्टी राजनीतिबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धीकै रूपमा आमने-सामने भिड्न तयार छन्। भट्टराई लोकतान्त्रिक गठबन्धन (कांग्रेस-नयाँ शक्ति)को तर्फबाट साझा उम्मेदवार बनेका छन् भने श्रेष्ठ वाम गठवन्धन (एमाले-माओवादी)को तर्फबाट।
उमेरले भट्टराई श्रेष्ठभन्दा ६ वर्षले जेठा छन्। ०११ सालमा निम्न मध्यम परिवारमा जन्मिएका भट्टराई हुन् भने श्रेष्ठ ०१७ सालमा शिक्षित र सम्पन्न परिवारमा जन्मिएका थिए। यी दुवै नेतामा फरक धारको पृष्ठभूमि मात्रै छैन, -कतिपय विषयमा समानता पनि छन्।
कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुअघि दुवै नेताको राजनीतिक पृष्ठभूमि कांग्रेससँग जोडिएको थियो।
दुवै नेता जुनकुनै विषयमा पनि आदर्शवादी सोच राख्छन्। प्रचारमा बढी रमाउन चाहन्छन्। आफैं पत्रकारको पृष्ठभूमिका भएकाले पनि भट्टराई- श्रेष्ठ दुवै प्रचारमा आफूलाई केन्द्रविन्दुमा राखिरहन रुचाउँछन्। श्रेष्ठ जनएकता तथा भट्टराई जनादेश साप्ताहिकमा सम्पादक थिए।
एउटै जिल्लामा जन्मिएर बाल्यकाल गोरखामै विताए पनि यी दुई नेताको पहिलो भेट भने ०३५ सालमा मात्रै भएको थियो। फरक धार र शैलीबाट पञ्चायतविरोधी राजनीतिक चेतनाका साथ आन्दोलनमा लाग्दै गर्दा भट्टराई र श्रेष्ठको काठमाडौं क्षेत्रपाटीमा ३९ वर्षअगाडि पहिलो पटक भेट भएको थियो। आफ्ना शिक्षकले आफूहरूको पहिलो पटक भेट गराइदिएको नेता श्रेष्ठ स्मरण गर्छन्।
त्यसबेला उनीहरूले कम्युनिस्ट पार्टीको सदस्यता भने लिइसकेका थिएनन्। बाबुरामले ०३७ मा भारतमा अध्ययनकै क्रममा र नारायणकाजीले गोरखामै बाबुरामभन्दा एक वर्षपछाडि ०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।
यी दुई नेताले जतिबेला कम्युनिस्ट पार्टीको सदस्यता लिए, त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टी एउटै सगोलमा थिएनन्। उनीहरू तत्कालीन अवस्थाको नेकपा (चौथो महाधिवेशन) मा आबद्धता जनाउँदै कम्युनिस्ट आन्दोलनमा जोडिन आइपुगेका थिए। तर, उनीहरू त्यसबेला एक वर्षभन्दा लामो समय एकै पार्टीमा रहन सकेनन्। ०३९ सालमा मोहनविक्रम र निर्मल लामा समूहका रूपमा आएको विभाजनमा बाबुराम मोहनविक्रम र नारायणकाजी निर्मल लामा समूहतिर लागे।