एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपालनिकट नेताहरूले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । यो खबर
शुरोजंग पाण्डे, रमेश सापकोटा र वीरेन्द्र वलीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।
शीर्ष नेताहरूको असन्तुष्टिपछि सोमबार र मंगलबार छलफल गरेर सूचीमा नाम र क्रमसंख्या तलमाथि गर्न सकिने सहमतिका साथ प्रदेश संयोजकमार्फत तयार भएको प्रारम्भिक नाम राखेर एमालेले आयोगमा बन्दसूची दर्ता गराएको हो । एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, निर्वाचन विभागका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ तथा निर्वाचन विभागका सदस्य बाबुराम दाहालले प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फका बन्दसूची दर्ता गराएका थिए ।
केन्द्रीय कार्यालय सचिव श्रेष्ठले पार्टीका तर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेश सभामा २२० जना उम्मेदवारको सूची आयोगमा बुझाइएको जानकारी दिए । ‘स्थायी समितिको निर्णयअनुसार अहिलेलाई ३३० जनाकै सूची बुझाएका छौँ,’ श्रेष्ठले भने, ‘आयोगले दिएको समयभित्र सबै नाम या कतिपय नाम काँटछाँट गर्न सक्ने गरी प्रारम्भिक सूची बुझाइएको छ ।’
प्रदेश संयोजकले दिएको नाम मात्रै सूचीमासमयसीमाको दबाबले स्थायी समितिमा छलफल गर्न नभ्याएपछि एमालेले सातवटा प्रदेश संयोजक र मोर्चा संगठन प्रमुखले दिएका नाम राखेर समानुपातिकतर्फको सूची बुझाएको छ । ती नामसहित बाँकी सम्भावित नाममा सोमबार पनि गृहकार्य गर्ने र मंगलबार स्थायी समितिमा छलफल गरेर निर्णय गर्ने नेताहरूबीच समझदारी भएको छ । अधिकांश नाम परिवर्तन गर्न सकिने भएकाले सूचीमा परेका केन्द्रीय तहका नेताहरूको नामसमेत एमालेले बाहिर ल्याउन चाहेको छैन । ‘आइतबार बुझाएको सूचीमा प्राथमिकता क्रमसंख्या तोकेर राखिएका नाम पनि संशोधन गर्न पाइन्छ, त्यसक्रममा क्रमसंख्या तलमाथि गर्न मिल्छ, सबै नाम पनि परिवर्तन गर्न सकिन्छ,’ अधिवक्ता बाबुराम दाहालले भने, ‘निर्वाचन आयोगको निर्देशिका र निर्वाचन कार्यक्रमअनुसार नाम संशोधन गर्दा नाम र क्रमसंख्या तलमाथि गर्न सक्ने गरी सूची बुझाइएको छ ।
स्थायी समितिका नेता नै नाममा अनभिज्ञ२६ असोजबाट स्थायी समिति बैठक बस्ने भनिए पनि त्यसयता समानुपातिकका उम्मेदवारबारे औपचारिक छलफल नै नभएका कारण बन्दसूचीभित्र राखेर बुझाइएको नाममा स्थायी समितिकै सदस्यहरू अनभिज्ञ देखिएका छन् । २६ गते साँझ केहीबेर भैँसेपाटीमा बसेको स्थायी समिति बैठकमा केन्द्रको ‘सर्कुलर’ विपरीत सात–आठ गुणा बढी उम्मेदवारको नाम सिफारिस भएकाले विधि र प्रक्रियाभित्र रहेर नामावली ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिमा ल्याउन अध्यक्ष केपी ओलीले प्रदेश संयोजकहरूलाई निर्देशन दिएका थिए । त्यसअनुसार उनीहरूले ओलीलाई छुट्टै ‘ब्रिफिङ’समेत गरेका थिए ।
आवासीय बैठक बस्ने भन्दै स्थायी समितिका सबै सदस्यलाई शुक्रबार र शनिबार दिनभर ‘अलर्ट’ गराइए पनि बन्दसूची बुझाउने दिन अपराह्न १२ बजेपछि अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बोलाइएको थियो । बैठकमा नेपालनिकट उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतले नेतृत्वको अयोग्यताका कारण पर्याप्त छलफल र निर्णयविनै नाम बुझाउनुपर्ने स्थिति आएको भन्दै आलोचना गरेका थिए । त्यसपछि स्थायी समितिले पछि निर्णय गरेर सच्याउने गरी तत्काललाई प्रदेश संयोजकले दिएका नाम राखेर बुझाउने समझदारी भएको थियो ।
‘बैठक नै नबसेका कारण कसरी नाम आए, क–कसका नाम आए भन्ने कुरा औपचारिक रूपमा थाहा हुने कुरै भएन,’ एक सदस्यले भने, ‘बैठक नै बसेन, सुरुमै अध्यक्षले कुरा राख्न थालेपछि धेरै समय पुराण सुन्ने स्थिति पनि भएन, विरोध भएपछि प्रदेश संयोजकले दिएका नाम राखेर बुझाउने समझदारी भयो ।’
उपमहासचिव भुसालले पछिल्ला दिनमा पार्टीभित्र संस्थागत छलफलै हुन छाडेकाले पार्टीलाई ‘भूमिगत गिरोह’ले सञ्चालन गर्ने डर पैदा भएको बताए । ‘धेरै समय नबसेकाले अरू धेरै के–के भयो थाहा भएन, तर बाहिर पार्टी जति भयंकर विस्तार हुँदै गएको छ, त्यति नै भित्रभित्रै भूमिगत गिरोहले खोक्र्याउँछ कि भन्ने डर पैदा भएको छ,’ भुसालले भने ।
कांग्रेसमा नेता सिटौलादेखि खाणसम्म समानुपातिकमाकांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने शीर्ष नेता समानुपातिक सूचीमा परेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ झापा ३ बाट जितेका कृष्णप्रसाद सिटौलालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएको छ । आफ्नो नाम समानुपातिकमा राखिएपछि सिटौलाले सभापति शेरबहादुर देउवासँग असहमति जनाएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । सिटौलाले जितेको झापा ३ मा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई दिने, मकवानपुर १ कमल थापा, काठमाडौं ७ र बाँके ३ राप्रपालाई दिएर तालमेल गर्ने तयारी कांग्रेसको छ ।
सिटौलाबाहेक केबी गुरुङ, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, सुरेन्द्र पाण्डे, सुजाता कोइराला, चित्रलेखा यादव, डा। डिला संग्रौला, मीना पाण्डे, सुजाता परियार, लक्ष्मी परियारसहितका नेताको नाम समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ । कांग्रेसको सूचीमा परेको केही नाममा हेरफेर हुने बताइएको छ । कोइराला र यादव दुवै यसअघि समानुपातिकतर्फबाट सांसद बनेका थिए । दुवैलाई प्रत्यक्षमा उठाउने चर्चा कांग्रेसमा छ ।
सभापति देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई विश्वासमा लिएर उम्मेदवार सिफारिस गरेपछि सिटौलासहितका नेता असन्तुष्ट बनेका छन् । ‘विधि, प्रक्रिया केही नभनी एकलौटी रूपमा रामचन्द्र दाइलाई विश्वासमा लिएर समानुपातिकमा आफूनिकटका नेता पारिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउनु त कता हो कता, संसदीय समितिका २२ सदस्य सबैलाई थाहा दिइएको छैन ।’ देउवानिकट नेता डा।प्रकाशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की हाबी भएका हुन् । पौडेलतिरबाट डा। रामशरण महत, डा। शेखर कोइराला र डा। मीनेन्द्र रिजाल खटिएका थिए ।
निर्वाचन आयोग हलमा महत दाजुुभाइको रस्साकस्सीकांग्रेसको समानुपातिकतर्फतको बन्दसूचीमा गुटगत हाबी देखिएको छ । आइतबार मध्यरातसम्म पनि संसदीय समितिका सदस्यहरू उम्मेदवारको नाम थप्ने र काट्नेमा व्यस्त देखिए । समितिमा सदस्य रहेका डा।महत दाजुभाइबीच उम्मेदवारको नाम थप्ने र काट्न रस्साकस्सी चलेको थियो । दाजु यो ना उम्मेदवारमा राख्नुपर्छ भनी सच्याउँथे भने भाइ महत हुँदैन भन्दै काट्थे । डा।रामशरण महतलाई समितिका अर्का सदस्य डा।मिनेन्द्र रिजालले सहयोग गर्थे । समितिमा रहेका सदस्यहरू सीतादेवी यादव, एनपी साउद, फरमुल्लाह मन्सुर मध्यरातसम्म आयोगको सभाहलमा नाम थप्ने र काट्नेमा व्यस्त थिए ।
समानुपातिकमा लड्न खोजेका माओवादी प्रत्यक्षतर्फकांग्रेससँग गठबन्धन रहेका वेला माओवादीका धेरैजसो शीर्ष नेता समानुपातिक सूचीमा बस्न खोजेका थिए । तर, एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकतासम्म गर्ने सहमतिपछि धेरै माओवादी नेताले प्रत्यक्ष निर्वाचन लड्ने भन्दै समानुपातिक सूचीबाट आफ्नो नाम हटाएका थिए । निर्वाचन आयोगको समयसीमाभित्र आइतबार अपराह्न बेलुका ५ बजे पार्टीको समानुपातिक बन्दसूची बुझाएको प्रवक्ता पम्फा भुसालले बताइन् । माओवादीले प्रदेश सभाका लागि २२० र प्रतिनिधिसभाका लागि ११० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादी केन्द्रबाट समानुपातिक सूचीमा महिला नेतृ धेरै परेका छन् । सूचीमा दाङबाट रेखा शर्मा, बाँकेबाट पूर्णा सुवेदी, रोल्पाबाट ओनसरी घर्ती र जयपुरी घर्ती, दोलखाबाट देवी खड्काको नाम सिफारिस भएको छ ।
यस्तै, प्युठानबाट मणि थापा, बाँकेबाट तिलक परियार, तनहुँबाट सुरेश आलेमगर, चितवनबाट नारायण दाहाललगायत शीर्ष नेता समानुपातिक बन्दसूचीमा परेका छन् । प्रदेश सभाको समानुपातिकका लागि जाजरकोटबाट कालीबहादुर मल्ल र डोल्पाबाट पूर्वमन्त्री सत्यादेवी पहाडीको नाम बुझाएको एक नेताले बताए ।
अन्तिममा कार्यदलले टुंग्यायो बन्दसूचीमाओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम छनोट गर्न नेता रामबहादुर थापा बादल नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा सात प्रदेशका इन्चार्जसहित शीर्ष नेता सहभागी थिए । माओवादीको केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी कमिटी व्यवस्थित नभएकाले समानुपातिक उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन जिल्लाबाट प्रदेश हुँदै कार्यदलले आइतबार दिउँसो अन्तिम रूप दिएको थियो ।
जिल्ला पार्टीले बुझाएको नामावली प्रदेश कमिटीमा छलफलपछि अनुमोदन गरी कार्यदललाई बुझाउने अधिकार दिइएको थियो । प्रदेशले अनुमोदन भई आएको नामावली कार्यदलमा रहेका शीर्ष नेताले टुंग्याएका थिए । समानुपातिकमा धेरै नाम सिफारिस गरेपछि प्रदेश र कार्यदललाई सर्ट लिस्ट बनाउन हम्मे हम्मे परेको थियो । शनिबार र आइतबार दिनभरको प्रयासपछि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नामावली पेस गरिएको थियो ।