प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभालाई सम्बोधन गरेपछि भेटिँदा निकै प्रफुल्ल मुद्रामा थिए । नयाँ संविधान जारी भएपछि नेपालको तर्फबाट महासभामा सम्बोधन गर्ने देउवा पहिलो प्रधानमन्त्री हुन् । यसअघि दुईपटक महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिसकेका उनले यसपटक कस्तो अनुभूति गरे ? न्यूयोर्कस्थित ग्रान्ड हायात होटलमा कान्तिपुरका चन्द्रशेखर अधिकारीले प्रधानमन्त्री देउवासँग गरेको कुराकानीबाट
यस्तो ठूलो मन्त्रिपरिषद मुलुकले धान्न सक्छ ?हामीले सबै काम संविधानत: नै गर्ने हो । यो राजनीतिक ‘ट्रान्जिसनल फेज’ हो । सबैलाई मिलाएर लैजाने र समस्या समाधान गर्दै जाने हो । निर्वाचन गराएर अर्को सरकार बन्ने अवस्था त्यति टाढा नभएकोले यसलाई धेरै नकरात्मक रुपमा लिनु हुँदैन । हो, यो सरकारको आकार अलि ठूलो छ । अब बनाइसकेको मन्त्री फिर्ता गर्ने कुरा पनि भएन । मिलाएर अघि बढ्ने र निर्वाचनपछि चुस्त सरकार बन्ने मेरो विश्वास छ । मुलुकले धान्ने–नधान्ने भन्दा पनि नतिजा महत्वपूर्ण हुन्छ । नतिजा आउने गरि काम गर्न वर्तमान सरकार प्रतिवद्ध छ । त्यसको लक्षण तपाईहरुले देखिसक्नु भएको छ ।
निर्वाचन आचारसंहिता लागिसकेको भन्दै आयोगले यसलाई सच्याउन भनिरहेको छ नि, होइन र ?उहाँहरुको सल्लाहमा, स्विकृती लिएर नै त्यसलाई समाधान गरौंला । बनिसकेको मन्त्री अब फिर्ता हुने कुरा आउँदैन ।
यति धेरै आलोचना हुँदा पनि तपाईले यो बिषयको बचाउ गरिरहनु भएको छ । तर, आम जनता अझै यो कुरामा सहमत हुने ठाउँ छैन, के भन्नु हुन्छ ?बचाउभन्दा पनि मैले वास्तविक कुरा भनेको हुँ । यसमा के भयो, के भएनतिर हामी नजाऔं । सबैको जिज्ञासा मेट्न सकिन्छ र ? ए, बा–बा मैले भनिसकें त– हामी कानुनत: अघि बढ्ने हो भनेर । कानुनभन्दा माथि कोही हुन्न । लोकतन्त्रमा कानुनी शासन नै सबैभन्दा महत्वपूर्ण रहन्छ । वर्तमान सरकार जनतालाई तत्काल होइन, दिगो नतिजा दिने गरि अघि बढेको छ । भावी पुस्ताको भविष्य सोचेर म काम गरिरहेको छु ।
प्रदेश नम्बर २ मा सम्पन्न स्थानिय निर्वाचनको मतगणनाको नतिजाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? निर्वाचन सम्पन्न भएपछि म यता आएँ । त्यहाँ शान्तिपूर्ण मतगणना भइरहेको जानकारी छ । तर नतिजा के भएको छ, त्यो मलाई थाहा नै छैन । के भइरहेको छ, बरु भनिदिनु न, तपाई त सम्पर्कमा हुनुहोला । म त आजसम्म यहीं ब्यस्त भएँ । अब बुझ्नु पर्ला । जनताको उत्साहपूर्ण सहभागितामा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै ठूलो कुरा हो । निर्वाचनको नतिजाभन्दा पनि यसको सफलतातिर मेरो लक्ष्य हो । लोकतन्त्रमा हार–जित हुन्छ, यसलाई ठूलो रुपमा लिनु हँुदैन ।
तपाईले महासभाको ‘साइडलाइन’मा भेटवार्ता पनि गर्नुभयो, कत्तिको उपयोगी पाउनु भयो ?श्रीलंका, अफगानिस्तान, इस्टोनियाका राष्ट्रपति तथा बंगलादेश, भुटान र पाकिस्तानका प्रधानमन्त्रीहरुसँग भेटवार्ता गरें । सबै राम्रै रहे । दूईपक्षीय विषय तथा बहुपक्षीय सहकार्यलगायतमा छलफल भए । खासगरि सार्क मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँगको वार्तामा सार्क शिखर सम्मेलन गर्ने विषय र त्यसलाई अघि बढाउने बारेमा नै बढि छलफल भयो । श्रीलंकाको राष्ट्रपति नेपाल आउने कुरा गर्नुभएको छ ।