भुइँचालो गएको तीन वर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ कुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् । वसन्तपुर दरबार क्षेत्रको बाहिर ठाउँ–ठाउँमा राखिएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
शिवपार्वती मन्दिरको पश्चिमतिर एक थुप्रो राखिएको छ भने अर्काे थुप्रो दरबार क्षेत्रको ठूलो घन्टा छेउमा । केही हनुमानढोका दरबारभित्र छन् । ‘घामपानीले काठ कुहिन थालेका छन्,’ सम्पदा विज्ञ तेजरत्न ताम्राकारले भने, ‘यो बर्खामा पनि व्यवस्थापन गर्न सकिएन भने अधिकांश कामै नलाग्ने हुन्छन् ।’
बाटोमै अलपत्र छाडिएकाले हराउने डर पनि उत्तिकै छ । ‘गएको शिवरात्रिमा काठ जोगाउन साङ्लोले बाँधेर राख्यौं,’ सम्पदा अभियन्ता सुमना श्रेष्ठले भनिन, ‘बिजोग भइसक्यो । सुरक्षित ठाउँमा राख्नुपर्छ भनेर माग गरेका छौं ।’ यहाँका धेरै काठ काम लाग्ने नै छन् । तर संरक्षण गर्न पुरातत्त्व विभाग, पुनर्निर्माण प्राधिकरणलगायत निकायलाई अनुरोध गरे पनि नसुनेको ताम्राकारले गुनासो गरे ।
सातौ शताब्दीमा बनेको पुष्टि भएको काष्ठमण्डप अहिले हेर्दा कन्तबिजोग छ । उत्खनन गरेर निकालिएका इँटा यत्रतत्र छरिएका छन् । तार बारले घेरेर भित्र पस्न नमिल्ने बनाइएको छ । बाँसको टेको ठड्याएर जस्ताको छाप्रो बनाइएको छ । बेलायतको डरहम विश्वविद्यालयको टोलीले गत वर्ष उत्खनन गरेपछि यसको जग जोगाउन पानी पस्न नदिनु भनेको थियो । त्यही सल्लाह अनुसार महानगरले छाप्रो हालेको छ । छाप्रो बनाउँदा पनि पुरातात्त्विक मान्यता मिचेको पुरातत्त्वविद्ले गुनासो गरेका छन् । उपत्यकाको सभ्यताकै प्राचीन संरचना हो काष्ठमण्डप । यही सत्तलको नामबाट उपत्यकाको नाम काठमाडौं रहन गएको हो । यही सम्पदा विभिन्न निकायको खिचातानीले पुनर्निर्माणमा अन्योल सिर्जना भएको छ ।
तीन वर्षअघि भुइँचालोले क्षतिग्रस्त बनाएको काष्ठमण्डप विवादका कारण पुननिर्माण सुरु भएको छैन । भुइँचालो गएको दस महिनापछि यसको पुनर्निर्माण सुरु गर्ने गरी काठमाडौं महानगरपालिकाले तयारी गरेको थियो । यसको नक्सामै विवाद भएपछि पुनर्निर्माणले गति लिएन । स्थानीयवासीले ठेक्कामा दिनु हुँदैन भन्दै यसको पुनर्निर्माण आफैंले गने माग गर्दै आएका थिए । भुइँचालोलगत्तै यसको पुनर्निर्माणका लागि अभियानसमेत चलाइएको थियो । आफूले पुनर्निर्माणको जिम्मेवारी पाएपछि काष्ठमण्डप बनाउनका लागि अभियानले काम सुरु गरिसकेको थियो । काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर निर्वाचित भएपछि आफैं काम गर्ने भने । उनले हस्तक्षेप गरेको पनि १० महिना भइसक्यो । पुनर्निर्माणको सुरसार भने अझै भएको छैन ।
प्रदेशसभा सांसद राजेश शाक्यको संयोजकत्वमा काष्ठमण्डप पुनर्निर्माण गर्न फेरि अर्काे समिति बनेको छ । यो समिति स्थानीय सरकार, प्रदेश र संघीय सरकार मिलेर बनाएको दाबी शाक्यले गरेका छन् । ‘प्रदेश, स्थानीय र संघीय सरकारको संयुक्त सहभागितामा साढे तीन बर्षभित्र बनाउँछौं,’ शाक्यले भने ।
‘हामीले मात्रै बनाउन सक्छौं, अरूले बनाउन सक्दैनौ भनेर घमण्ड गर्नु हुँदैन,’ अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठले गुनासो गरे ‘बनाउँछु भनेर मात्रै हुँदैन । बनाउँछु त महानगरले पनि भनेकै हो । पुरातत्त्वले पनि बनाउँछु भनेकै हो । यसको सांस्कृतिक मूल्य मान्यतासहित बन्नुपर्यो ।’ अभियानले कामको निर्माण ठेक्कामा नदिई ज्यालामा दिनुपर्ने, समुदायको स्वामित्व हुनुपर्ने, यहाँका अमूर्त सम्पदालाई ध्यान दिनुपर्ने र विदेशी पैसामा बनाउन नहुने जस्ता मूल्यमान्यता अघि सारेको अभियन्ता आलोकसिद्धि तुलाधरले बताए ।