बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । भारतबाट आयातीत पाइप वेल्डिङ गरी खाडलमा हाल्ने काम भने मंगलबारबाट सुरु भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
मंगलबार सिमरामा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप गाड्ने कामको शिलान्यास गरे । जितपुर–सिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्ने कार्य सुरु गरिएको थियो । आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कामको मानन्धरले प्रशंसा गरे ।
निर्माणस्थलको माटो परीक्षणपछि भारतमा निर्माण गरिएको औसत साढे ११ मिटर लम्बाइका पाइप वेल्डिङ गरी जोड्ने कार्य पनि सँगसँगै चलिरहेको छ । पाइपको मोटाइ १०.७५ इन्च रहेको छ । पाइप लाइनको गहिराइ साढे २ मिटर रहने छ । तर, खोला तथा अन्य केही भागमा आवश्यकताअनुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने देखिएको आयोजनाले जनाएको छ ।
रक्सौलदेखि बाराको अमलेखगन्जसम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी ‘लिखिथा इन्फ्रास्टक्चर प्रालि’का प्राविधिकहरूले पाइपलाइन विस्तारको काम गरिरहेका छन् ।
नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजनाविज्ञ शरदकुमार पौडेलले पाइपलाइन विस्तार कार्य आगामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिए । नेपाल र भारतमा गरी तीन सयभन्दा बढी प्राविधिकले एकसाथ काम गरिरहेकाले निर्धारित समयमै काम सकिने नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगन्जका डिपो प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।