तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए ।
‘नेपाल-भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ओली र मोदीको भेटवार्तामा जलविद्युत्मा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ। दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ ।
ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए ।
भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सरप्राइज भेट गरेका थिए ।
यसअघि नेपाल एयरलायन्सको विमानबाट बिहान १०.४५ मा दिल्ली आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।
सिंह भारतीय जनता पार्टीका तेस्रो वरीयताका नेता तथा पार्टीका पूर्वअध्यक्ष हुन् । ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तीय राज्यमन्त्री शिवप्रताप शुक्ल पनि विमानस्थल पुगेका थिए । नेपाली दूतावासका तर्फबाट ओलीको स्वागतका लागि कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ । विमानस्थलबाट सीधै राष्ट्रपति भवन पुगेका ओली केही बेरको आरामपछि धौलाकुँवास्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरेका थिए ।
राजनीतिक भेटघाटभारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेट गरी राजनीतिक भेटघाट सुरु गरेका छन् । यादवसँगको भेटपछि ओलीले भारतीय प्रमुख प्रतिपक्ष दलका अध्यक्ष राहुल गान्धीसँग भेटेका छन् । डिसेम्बरमा कांग्रेस आई अध्यक्षको जिम्मेवारी सम्हालेका राहुलले नेपालका उच्च राजनीतिज्ञलाई भेटेको यो पहिलो हो ।
विपक्षी नेता गान्धीसँगको संक्षिप्त भेटपछि ओलीले भारतीय जनता पार्टीका नेतासँग अनौपचारिक भेट गरेका छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसहितको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरेको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । प्रधानमन्त्री मोदीको निवासमा हुने वार्ताको तयारीका लागि दोभालको भेट भएको हो ।
प्रधानमन्त्रीले शुक्रबार गरेको सबै शिष्टाचार भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल-भारत सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
नेपाली दूतावासमा साँझ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई सम्बोधन गरेका छन् ।प्रवासीसँगको छलफलपछि प्रधानमन्त्री ओली नेपाली दूतावासले उनको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।