नेपालका गिद्ध उडेर अरु देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म कसैसँग जवाफ थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तान पुग्दा रहेछन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रुपमा गिद्धको ढाडमा ‘स्याटेलाइट टेलिमेट्री ट्याग’ जोडेपछि नेपाली गिद्ध आहार र जोडीको खोजीमा भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्मै पुगेको खुलासा भएको हो ।
गत मंसिरमा ढाडमा स्याटेलाइट जोडेर जंगल (प्राकृतिक बासस्थान) मा छाडिएको अति संकटापन्न सूचीको डंगर प्रजातिको गिद्ध नवलपरासीको पिठौलीबाट ११ सय किलोमिटर यात्रा गर्दै भारत–पाक सीमामा पुगेको हो ।
उक्त गिद्ध दुई पटक त्यहाँ पुगेको पाइएको छ र अहिले पनि उतै छ ।