संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा छापिएको समाचारका अनुसार संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो ।
दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले बताए । प्रधानमन्त्री ओली भारतबाट फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर हुने र आफूहरू सरकारमा सहभागी हुने उनले बताएको उल्लेख छ ।
सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ । उसले स्वास्थ्य र सहरी विकास मन्त्रालय पाउने सम्भावना छ ।
त्यस्तै समाचारमा मन्त्रालय फेरबदल हुनसक्ने पनि लेखिएको छ। समाचारका अनुसार फोरम सरकारमा जाने अवस्थामा अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश प्रधानमन्त्री केपी ओलीले यादवलाई पठाइसकेका छन् । अध्यक्ष यादवका लागि एउटा विकासे मन्त्रालय मिलाउने ओलीले वचन दिएका छन् ।
फोरमका एक नेताका अनुसार सहरी विकास मन्त्रालयमा खानेपानी मन्त्रालयलाई गाभेर फोरमलाई दिने तयारी भएको छ । खानेपानीमन्त्री विना मगरलाई अन्य मन्त्रालयमा सार्न सकिने जानकारी फोरमलाई गराइएको छ ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालय पनि फोरमले पाउनेछ । स्वास्थ्य मन्त्रालयमा अहिले एमाले नेत्री पद्यमा अर्याल राज्यमन्त्री छिन् । फोरम नेता राईले सूचना तथा सञ्चार मन्त्रालय पनि फोरमको भागमा आउन सक्ने बताए