प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेको समाचार कान्तिपुर दैनिकले लेखेको छ।
सो समाचारका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन । स्थानीय विकास र सामान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन ।
मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । तीमध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुसार ८ सय ८१ कर्मचारी मात्रै प्रदेश सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।
स्वैच्छिक अवकाशमा आवेदन दिएका २१ कर्मचारी पनि प्रदेश नगएको समाचारमा उल्लेख छ भने समाचारका अनुसार प्रदेश १ मा १ सय ७४ कर्मचारी खटाइएकामा ३७ जना हाजिर भएका छैनन् । प्रदेश २ मा १ सय ५७ मध्ये ६० जना गएका छैनन् । प्रदेश ३ मा पठाइएका १ सय ४८ जनामा २९ जना सम्पर्कविहीन छन् । प्रदेश ४ र ५ मा क्रमश: १ सय ७३ र १ सय ५५ कर्मचारी पठाइएको थियो । तीमध्ये क्रमश: २३ र ४० कर्मचारी हाजिर हुन गएका छैनन् । प्रदेश ६ मा एक सय ७६ कर्मचारी खटाइएकामा १ सय ४९ मात्रै हाजिर हुन पुगेका छन् । प्रदेश ७ मा पठाइएका १ सय ६० मध्ये ४६ कर्मचारी हाजिर कार्यक्षेत्र पुगेका छैनन् । यो तथ्यांक सामान्य मन्त्रालयका प्रशासनिक कर्मचारीको मात्र हो ।
मन्त्रालय स्रोतका अनुसार अन्य मन्त्रालयले सामान्य प्रशासनको सहमति लिएर खटाएका प्राविधिकतर्फका कर्मचारीसमेत प्रदेश सरकारको सम्पर्कमा पुगेका छैनन् । प्राविधिकतर्फका बढी कर्मचारी सम्पर्कमा नआएको प्रदेश सरकारका सचिवहरूको भनाइ छ ।
सामान्य प्रशासनले सरुवा गरेकामध्ये ३ सय २६ कर्मचारीले विभिन्न कारण देखाएर सरुवा रद्द गरेका छन् । सरुवा गरिएका १ सय ४५ उपसचिव र ८६ शाखा अधिकृतमध्ये कतिपय स्थानीय तहमा नपुगेको सामान्य प्रशासनका एक कर्मचारीले बताए । ‘कागजमा सरुवा भएको देखिन्छ, सेवासुविधा पनि लिएका छन्,’ ती कर्मचारीले भने, ‘वास्तविक रूपमा केही कर्मचारी तोकिएको ठाउँमा पुगेका छैनन्, पछिल्लो समय भद्रगोल बढेको छ ।’
हाजिर हुन नगएका कर्मचारीको लगत संकलन भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।