भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । नयाँ पत्रिका दैनिकले टाइम्सअफ इन्डियाको अनलाइन संस्करणमा छापिएको समाचार भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य उल्लेख छ।
एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको जनाएको छ।
भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।
नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् ।
दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्याउने र बसमा राखेर भारत पुर्याउने गर्छन् । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् ।
‘नेपाली किशोरीलाई गाउँबाट काठमाडौंसम्म लगिन्छ । काठमाडौंका गेस्टहाउस वा कार्पेट उद्योग पुर्याइन्छ । त्यहाँबाट नेपालका सीमा क्षेत्रका सहरमा पुर्याइन्छ र सीमा क्षेत्रबाटै दलालको हातमा उनीहरू बेचिन्छन् । किशोरीहरू खरिद गरेर दलालले बस वा रेलमा राखी मुम्बई, कोलकाता र दिल्ली पुर्याउँछन् अथवा अझ साना सहरमा समेत पुर्याएर वेश्यालयका मालिकसमक्ष भारु ५० हजारसम्ममा बिक्री गरिदिन्छन् । अधिकांश दलाल लोकल बस चढेर दिल्ली पुग्छन् भने मुम्बई पुग्नका लागि रेल प्रयोग गर्छन्,’ एसएसबीको अध्ययनमा उल्लेख छ ।