दुबईबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा सवार नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।
वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।
जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरूलाई दुव्र्यवहार गर्न सुरु गरे,’ सम्बद्ध स्रोतले नागरिकसँग भन्यो, ‘नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेसलाई घचेडेर झन्डै पछारिदिएका थिए।’
रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन ढेवाजू र कोपाइलट बैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए।