सिंहदरबार होस् कि संसद् भवन। सांसदहरूको एउटै गुनासो सुनिन्छ, ‘प्रधानमन्त्रीसँग भेट्नै पाइएन। जनताका कुरा राख्नै पाइएन।’
अब भने सांसदले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने मात्रै होइन, सिधै प्रश्न गर्न पाउने भएका छन्। अन्नपूर्ण दैनिकमा समाचार छ। हरेक महिनाको दुई दिन, त्यो पनि जनप्रतिनिधिमूलक निकाय प्रतिनिधिसभामा। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई दिन प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा सिधा प्रश्न गर्ने व्यवस्था नियमावलीमा राख्ने भएको छ।
समिति सभापति एवं एमाले सांसद कृष्णभक्त पोखरेलले महिनाको पहिलो र तेस्रो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राखिने बताए। ‘विकास निर्माण र जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग सिधै सांसदले प्रश्नोत्तर गर्ने व्यवस्था नियमावलीमा राख्दै छौं,’ उनले भने। प्रधानमन्त्रीलाई एक दिनमा १० जना सांसदले प्रश्न गर्न पाउनेछन्।
यस्तै अन्य मन्त्रीसँग पनि प्रश्नोत्तरको व्यवस्था नियमावलीमा राखिने भएको छ। ‘प्रतिनिधिसभाले बिजनेसमा प्रवेश गर्नुअघि प्रश्नोत्तरको समय राखिनेछ,’ पोखरेलले भने, ‘यसबाट सरकार र जनप्रतिनिधि तथा जनता र सरकारबीचको सम्बन्ध सुदृढ हुने र सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी बनाउन मद्दत मिल्ने विश्वास छ।’