नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन ।
आजको राजधानी दैनिक अगाडि लेख्छ- यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत गरिन्छ । साथै संगठन प्रमुखका तर्फबाट निशानमा पन्जाछापसमेत लगाइन्छ ।
यस दिन बलिपूजाअन्तर्गत संगठन प्रमुखका तर्फबाट पञ्चबलिका नाममा बोका र राँगा बलि दिने प्रचलन छ । साथै इच्छुक अधिकृतहरुका नाममा पनि बोकाको बलि दिने प्रचलन छ ।
यो मौलो पूजा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुख्यालयनजिकै रहेको बगलामुखी विशेष कार्यदल गणमा गर्दै आएको छ । नेपाल प्रहरीले भने नक्सालस्थित प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ मा गर्दै आएको छ ।
सशस्त्र प्रहरी बलले चैते दसैंअन्तर्गत महानवमीको अवसरमा आइतबार गरेको मौलोपूजा भने विगतको जस्तो सुखद रहेन । अर्थात् संगठनको १७ वर्षे इतिहासमा कहिल्यै पनि नभएको दुःखद् घटना हुन पुग्यो ।
हुन त सशस्त्र प्रहरीले साइत निकालेरै बिहान ६ बजेर ११ मिनेटमा पूजाको संकल्प गरेको थियो । साइत निकालेरै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमबीच पूजाअर्चना गरेको निशान तथा मौलोपूजा कार्यक्रम विशेषगरी महानिरीक्षक श्रेष्ठका तर्फबाट सिंगो संगठन र अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीका लागि अत्यन्तै खल्लो बन्न पुगेको हो ।
संगठनका तर्फबाट महानिरीक्षक श्रेष्ठले बोका र राँगा बलि दिएका थिए । तर, बोका र राँगा दुवै एकै पटकको मारमा छिनेनन् । सामान्यतः बलि दिएका जीवजन्तु एकै मारमा छिन्नुपर्ने भनिँदै आएको छ । एकपटकमा नछिने अनिष्ट हुनेसमेत भनिन्छ ।
तर, महानिरीक्षक श्रेष्ठले संगठनका तर्फबाट पञ्चबलिका नाममा चढाएको राँगा एक मारमा नछिनेपछि भागेको थियो । राँगा भागेपछि मार हान्न खटिएका हतियारधारी सुरक्षाकर्मीले लखेट्दै यत्रतत्र प्रहार गरेका थिए ।
धन्य राँगालाई कार्यदल गणको मूल गेटबाट बाहिर भाग्न नपाउँदै नियन्त्रणमा लिइएको थियो ।
त्यसपछि महानिरीक्षक श्रेष्ठले अन्तिममा गरिने क्षमापूजाअन्तर्गत चढाएको बोकामा पनि यही नियति दोहोरिएको थियो । क्षमापूजाको नाममा अन्तिममा चढाइएको बोकालाई मार हान्न पनि दुई तीनपटक लागेको थियो ।
मौलोपूजाअन्तर्गत सुरुमा गणका तर्फबाट बलि दिइएको थियो । त्यसपछि महानिरीक्षक श्रेष्ठको नामबाट बोका बलि दिइएको थियो । महानिरीक्षक श्रेष्ठका नाममा पहिलोपटक चढाइएको बोकामा भने यो स्थिति आएको थिएन ।
महानिरीक्षक श्रेष्ठको नाममा बोकाको बलि दिइएपछि एआईजीहरुको नाममा बोकाको बलि दिइएको थियो ।
अन्य एआईजी, डीआईजी र एसएसपीका नाममा बलि दिइएका बोका एकै मारमा छिने पनि एआईजी केसीको नामको बोका भने एकै पटकमा छिनेन ।