अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ। गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशनलगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए।
सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडांै रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए। प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाका नाममा वर्षौंदेखि घरेलु कामदार बनाउँदै आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयको एक अध्ययनले सुरक्षामा खट्नुपर्ने प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै १५ हजार सुरक्षाकर्मी हाकिम तथा उच्चपदस्थको घरमा कामदारको रूपमा रहेको देखाएको हो। गृहसचिव सापकोटाले हजारैाँ सुरक्षाकर्मी उनीहरूका हाकिम र भीआईपी कहाँ घरेलु कामदारमा रुपमा बसिरहेको पुष्टि गरे। ‘कसकोमा कति सुरक्षाकर्मी बसेका छन् तत्काल खोजी गरी काममा फर्काइने छ’, गृहसचिव सापकोटाले भने।
प्रधानमन्त्रीले बुधबार गरेको सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशमा सुरक्षाकर्मी अभाव हुँदा सुरक्षा चुनौती बढेको बताएका थिए। मुख्यमन्त्रीहरूले सुरक्षाकर्मी अभाव रहेको बताउँदै गर्दा प्रधानमन्त्री ओलीले अहिले पनि प्रहरी र सेनाको हाकिमकहाँ हजारांै सुरक्षाकर्मी घरेलु कामदारको रूपमा काम गर्न विवश भएको तथ्य स्पष्ट पार्दै त्यसरी काम गरिरहेका हजारौं सुरक्षाकर्मीलाई साताभित्रै फिर्ता गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनअनुसार अहिले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त तथा नजिकका साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता तथा व्यापारीकहाँ गरी झन्डै नौ हजार सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन्। सेनाका हाकिमकहाँ झन्डै ६ हजार सैनिक सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन्।