तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ? यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तरपनि, कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’
कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।
यसैगरी, काजसरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार काजसरुवा भएका कर्मचारी तीन महिना पूरा भएपछि साबिककै कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कार्यालय ताहचलमा भने वर्षौँदेखि तलब नपाए पनि काजका कर्मचारी कार्यरत छन् ।
दरबन्दी नभएका १६ कर्मचारीलाई तलब खुवाउन नसकेपछि ताहचल कार्यालयले कोष तथा लेखानियन्त्रण कार्यालयलाई पत्र लेखेको छ । जसमा दरबन्दी मिलान नभएका १६ कर्मचारीलाई १४ महिनादेखि तलब, भत्ता र चाडपर्व खर्च भुत्तान गर्न नसकेको उल्लेख गरिएको छ । उनीहरुलाई तलब, भत्ता र पोसाक भत्ताका लागि ५९ लाख १२ हजार ७ सय ९९ रुपैयाँ उपलब्ध गराइदिन पत्रमा माग गरिएको छ ।
कार्यालय प्रमुख देसारले कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेको बताए । ‘भदौमा केहीको सरुवा भएको थियो, तर ती कर्मचारी डेग चलेनन्, त्यसपछि थप समस्या भएको हो,’ कार्यालय प्रमुख देसारले नयाँ पत्रिकासँग भने । सरकारी कर्मचारीले कुनै न कुनै दिन तलब पाउने पक्का हुने भएकाले कर्मचारीमा निराशा नभएको उनले बताए ।