निर्वाचनमा पार्टी हारको समीक्षा गर्ने एजेन्डासहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नु दुई दिनअघि यहाँ सुरु जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलामै नेताहरूबीच ध्रुवीकरण सुरु भएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
निर्वाचनमा हारको दोष नेतृत्वलाई मात्रै दिने या सबैले जिम्मेवारी लिने, यसै विषयमा विशेष वा ‘अर्ली’ महाधिवेशन बोलाउने या महासमिति बैठकमै चित्त बुझाउने, नेतृत्व परिवर्तनको दिशामा अघि बढ्ने या नबढ्ने, निर्वाचन हार्नुमा नेतृत्वको कार्यशैलीलाई दोष दिने या नदिनेजस्ता सवालमा ध्रुवीकरण देखिन थालेको हो ।
निर्वाचनमा पराजित हुनुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई मुख्य कारण ठान्दै संस्थापनइतर पक्ष एकठाउँमा उभिएपछि देउवासमर्थित संस्थापन पक्षका नेताहरू पनि नेतृत्वको बचाउमा लागेका छन् । यस्तै परिदृश्यका साथ कांग्रेस कोषाध्यक्षको दोस्रो राष्ट्रिय भेला बुधबारदेखि सुरु भएको हो ।
उद्घाटन सत्रमा नै संस्थापन पक्ष सभापति देउवाको बचाउमा लागे भने वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष नेतृत्वको विरोधमा उत्रिएको थियो । नेताहरूबाटै सुरु भएको यो ध्रुवीकरणको प्रभाव बिहीबार हुने बन्द सत्रमा समेत देखिने छ ।
हारमा सभापति देउवाको मात्रै दोष नभएको भन्दै संस्थापन पक्षका नेताहरूले सार्वजनिक स्थलमै विरोध र एकले अर्कोलाई खुइल्याउने गरी नबोल्न आह्वान गरेका थिए । तर, पौडेल पक्षीय नेताहरूले भने पार्टी सभापति देउवाले संस्थागत रूपमा पार्टी हाँक्न नसकेको, आफ्नो समूहलाई बलियो बनाउने नाममा विधानविपरीतका कदम चालेको र सरकारको नेतृत्व लिँदासमेत प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए ।
उद्घाटन सत्रमा दस मिनेट मात्रै मन्तव्य राखेका देउवाले भने ती आरोपका कुनै जवाफ दिएनन् । उनले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नै सबै समीक्षा हुने भन्दै वाम गठबन्धनको सरकारबाट आउने सक्ने चुनौतीका बारेमा आन्दोलनका लागि सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे । ‘अहिल्यै भन्ने बेला त भएको छैन, तर जुन खालको गतिविधि देखिँदै छ, त्यसले लोकतन्त्रमाथि खतरा ल्याउन सक्छ,’ देउवाले भने, ‘त्यतिबेला सदनको विरोधले मात्रै नहुन सक्छ, सडक आन्दोलनसमेत गर्नुपर्ने अवस्था आउँछ, सजग रहनुहोला ।’
संस्थापन पक्षीय नेताहरूले सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना नगर्न आग्रह गरे पनि वरिष्ठ नेता पौडेलले भने हारमा नेतृत्वको दोष रहेको टिप्पणी गर्दै आलोचनाबाट कांग्रेस अघि बढ्ने जवाफ दिएका थिए । ‘हारको निर्मम समीक्षा गर्नुपर्छ, यसले कांग्रेस कमजोर बनाउँदैन, झन् आत्मबल बढाउँछ,’ उनले भने, ‘नैतिक आत्मबलले मात्रै कांग्रेसलाई अघि बढाउँछ, अन्य साधन र स्रोत त कम्युनिस्टका हातमा पुगिसकेका छन् ।’
पौडेलले इतिहासमै पहिलो पटक संघीय संसददेखि प्रदेशसम्ममा कांग्रेसको स्थान एक चौथाइसम्म पनि नभएको भन्दै यसको जिम्मेवारी लिने कि नलिने भनी पार्टी सभापति देउवाप्रति बारम्बार प्रश्न उठाएका थिए । आफूले पार्टीका लागि आफ्नो स्वार्थ दाउमा राखेको तर पार्टी नेतृत्वले आफ्नो स्वार्थका लागि पार्टीलाई दाउमा राखेको टिप्पणी गर्दै उनले भने, ‘अब हामीसँग बचेको भनेको जनता हुन् । जनतालाई साथ र विश्वासमा लिन मूल्य, मान्यता र काम गर्ने शैलीमा परिवर्तन आउनुपर्छ कि पर्दैन ? त्यसो हुन सकेन भने हामी झनै कमजोर हुनेछौं ।’ सबै नेताहरू अबको महासमिति बैठकबाट विधान संशोधन गरी पार्टीलाई संघीय ढाँचाअनुसार रूपान्तरण गर्नेमा एकमत देखिएका थिए । तर, विधान संशोधनभित्र पनि दुई पक्षका आ–आफ्ना स्वार्थ देखिएका छन् । सभापति देउवा विधान संशोधन गरेर पार्टी संरचनालाई संघीय ढाँचामा रूपान्तरण गर्नुका साथै पदाधिकारी संख्या र सभापतीय अधिकारसमेत बढाएर आफू थप शक्तिशाली बन्ने योजनामा छन् । तर, संस्थापनइतर पक्ष संघीय ढाँचाअनुसार पार्टीलाई रूपान्तरण गर्न महाधिवेशनमा जानुपर्ने पक्षमा लबिइङ गरिरहेको छ ।