नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद सुरु भएको छ।
पार्टीको महाधिवेशन भएको दुई वर्ष बित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पूर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप गर्ने विषयमा नेताहरू पक्ष र विपक्षमा विभाजित भएका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा छन्। तर, नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न राजी छैनन्।
नेतृत्व विकास र हस्तान्तरणभन्दा गुटगत स्वार्थका आधारमा विधान संशोधन गरेर पदाधिकारी बढाउने खेल हुँदा कांग्रेसमा यो विषय पटक–पटक बल्झिँदै आएको छ। त्यसकै परिणाम १३ औं महाधिवेशनअघि पदाधिकारी थप्ने पक्षमा रहेका नेता पौडेल अहिले विपक्षमा उभिएका छन्। १३ औं महाधिवेशनका बेला पदाधिकारी थप गर्नै नदिने अडानमा रहेका देउवा अहिले पदाधिकारी थप्ने पक्षमा छन्।
पदाधिकारीका आकांक्षीमा निकट नेताहरू नै बढी रहेका हुँदा देउवाले विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव गर्नुुपर्ने एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री अहिलेसम्म नियुक्त गर्न सकेका छैनन्। पदाधिकारी संख्या बढाएर देउवा आफू निकट नेतालाई सहज व्यवस्थापन गर्ने दाउमा छन्।
देउवा पक्षबाट खुमबहादुर खड्का, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ उपसभापतिको आकांक्षी छन् भने पार्टी एकता गरेर आएका नेता विजयकुमार गच्छदारलाई पनि देउवा उपसभापति बनाउने पक्षमा छन्। त्यस्तै, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकाशशरण महतसहितले दाबी गर्दै आएका छन्।
त्यसका लागि सभापति देउवा प्रदेशको नेतृत्व गर्ने गरी सात उपसभापति वा सहमहामन्त्री बनाउने तयारीमा छन्। प्रदेशको नेतृत्व सहमहामन्त्रीलाई दिए उपसभापतिको संख्या तीन बनाउने र महामन्त्रीको संख्या दुईबाट बढाएर तीन पु-याउने आन्तरिक गृहकार्य चलिरहेको छ।
देउवा निकट नेता गोपालमान श्रेष्ठले संघीय संरचनाअनुसार पार्टी संरचना कस्तो बनाउने भन्ने छलफल सुरु भएको बताए। ‘प्रादेशिक संरचनामा पार्टी संगठनलाई लैजानुपर्नेछ,’ नेता श्रेष्ठले भने, ‘प्रदेशमा आआफ्नो कमान्ड गर्ने र संगठन पनि गर्नुपर्नेछ। त्यसका लागि नेतृत्वको व्यवस्थापन आवश्वक छ।’
अन्य पार्टीले पनि केन्द्रीय समिति र पदाधिकारी बढाएको बताउँदै श्रेष्ठले भने, ‘पहिला पनि कांग्रेसमा तीन उपसभापति थियो। अब पनि नेताहरूको व्यवस्था कसरी गर्ने भन्ने हो।’
तर, पौडेल पक्ष पदाधिकारी संख्या बढ्न नदिएर देउवालाई अप्ठ्यारो पार्दै १४ औं महाधिवेशनमा परिणाम उल्ट्याउने रणनीतिमा जुटिसकेको छ। पदाधिकारी संख्या थप्नबाट रोक्न सके देउवा पक्षमा असन्तुष्टि बढ्ने र त्यसको लाभ अर्को महाधिवेशनमा उठाउन सकिन्छ कि भन्ने पौडेल पक्षको आशा छ।
नेता कृष्णप्रसाद सिटौला निकट नेताहरू पनि तत्काल पदाधिकारी थप्ने पक्षमा छैनन्। नेता पौडेलले पार्टीलाई संघीय ढाँचामा लैजाने गरी विधान संशोधन आवश्यक रहेको बताए पनि पदाधिकारीको संख्या बढाउन नहुने तर्क गरे। ‘संघीय संरचनाअनुसार पार्टीको नयाँ संरचना बनाएर जाने हो,’ पौडेलले भने, ‘कसैलाई खुवाएर वा कुनै पद दिलाएर आफ्नो पक्षमा पार्नु पनि भ्रष्टाचार हो। म त्यसको पक्षमा छैन।’
पार्टी संगठनलाई सुदृढ बनाएर जानु अहिलेको आवश्यकता भएको आंैल्याउँदै पौडेलले भने, ‘पद बढाउने होइन, अहिले संगठन बढाउन सबैको ध्यान जानुपर्छ।’