एनसीसी घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले सबै नोक्सानी व्यवस्थापन भइसकेकाले एनसीसी बैंकका निक्षेपलाई कुनै असर नगर्ने बताएका छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
श्रेष्ठले भनेका छन्, ‘तत्कालीन एपेक्स बैंकका सञ्चालक तथा कर्मचारीले गरेको कर्जाको दुरुपयोगबाट एनसीसी बैंकका निक्षेपकर्तालाई असर पर्दैन । दुरुपयोग भएको सबै ऋणको नोक्सानी व्यवस्थापन भइसकेको छ । राष्ट्र बैंकको अनुसन्धानबाट करिब २ अर्ब रुपैयाँबराबरको ऋणमा कैफियत भेटिएको थियो । राष्ट्र बैंकले एनसीसीलाई त्यसको नोक्सानी व्यवस्थापन गर्न लगाएका हौं ।’
यसैगरी एनसीसी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता बन्दना पाठकले पनि एनसीसीलाई कुनै असर नपर्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘एपेक्सले एनसीसीसँग मर्जरमा जानुअघि प्रवाह गरेको प्रवाह गरेको कर्जामा हामीले कैफियत भेट्यौं । त्यसपछि हाम्रो आग्रहपछि नै राष्ट्र बैंकले अध्ययन सुरु गर्यो र त्यसमा कैफियत भेटाएर प्रहरीमा जाहेरी दिएको हो । यसबाट एनसीसीलाई कुनै नोक्सानी हुँदैन । हामीले राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा गरिसकेका छौं । वित्तिय विवरण सबै ठीक अवस्थामा छन् । अब कैफियत भेटिएको खराब कर्जा असुलउपर हुने सम्भावना बढेको छ ।’