नेपालमा ब्युटी पार्लर चलाएर मासिक ३५ हजार कमाइ गरिरहेकी महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउँदै छिन् । कैंची र कपाल मुसार्ने सुकिला हातहरू अहिले सागको फेंद नाप्न तल्लीन छन् । उनको अहिले मासिक कमाइ भने नेपालको भन्दा तीन गुना बढी छ । कान्तिपुरले आर्थिक पृष्ठमा समाचारमा लेखेको छ।
ईपीएसमार्फत कोरिया आउन पाएपछि राम्रै चलेको पार्लर बेचेर उनी कोरिया आएकी हुन्। ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टिकको फिनेल हाउसभित्र पसिनाले आँखा बिजाउँदा, टुक्रुक्क बसेर खुट्टा सार्दै, निहुरिएर कुप्री पर्दै साग टिप्दा, ‘किन आएँछु नि कोरिया’ भन्ने मनमा उब्जिन्छ। बैंक खातामा तलब देखेपछि त्यो मनमा मलहम लागे झैं हुन्छ। ‘यसो गर्ने उसो गर्ने भन्ने योजना बुन्नतिर लाग्छ मन,’ योगिताले सुनाइन्।
सागबारीमा भन्दा अलिक सजिलो हुने सुनेपछि काम परिवर्तन गरी च्याउ हाउसमा पुग्दा चिसोले पिनास र टन्सिलको सिकार हुनुपरेको अर्की महिलाको अनुभव छ। थरीथरीको च्याउ खेती गरिने कोरियामा समस्या पनि थरीथरीकै छन्। कहीँ दिनभरि एकहोरो च्याउका जरा काटेकाकाटै गर्दा नाडी सुन्निएर हैरान। कहीँ च्याउले भरिएका बक्सा उचाल्ने र राख्ने गर्दागर्दै पाखुरा सुन्निएर हैरान। कतै सिन्काजस्ता त कतै छाताजस्ता च्याउ टिप्नलाई पनि त्यत्तिकै सकस, भाँच्चिएला की भन्ने डर अनि छिटोछिटो गर्नुपर्ने अर्डर सुनाउँछन् कार्यरत महिलाहरू।
कोरियामा प्रवासी मजदुरहरूबारे गत वर्ष गरिएको एक अध्ययनले कृषि क्षेत्रमा समयमा तलब नदिने समस्या ८४ प्रतिशत देखिएको छ। त्यसैगरी सम्झौताको उल्लंघन गरी जबरजस्ती काम लगाउनेमा ५८ प्रतिशत देखिएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको एक मुख्य आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा हालसम्म करिब ३ हजार नेपाली महिलाहरूले काम गरिरहेको श्रम सहचारी डिल्लीराम बाँस्तोलाले सुनाए। ‘कृषि भिसामा आएका धेरैजासो महिलाहरू दुर्गम क्षेत्रमा कृषि र पशुपालनमा काम गर्ने भएकाले साहुबाट रूखो र अभद्र व्यवहार हुने गुनासाहरू आउने गरेका छन्,’ उनले भने। नेपालमा आफ्ना सन्तान र पारिवारिक आर्थिक अवस्थालाई सुधार्न दक्षिण कोरियामा महिलाहरू यस्तै कडा परिश्रम गर्न बाध्य छन्।