हुलाक टिकटमा राजनीति हुने गरेको खुलेको छ। कान्तिपुर दैनिकले छापेको समाचारका अनुसार पहुँचकै भरमा फजुलरूपमा हुलाक टिकट छाप्ने गरेको उसको समाचारमा उल्लेख छ।
दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार मन्त्रीको सिफारिसमाथि हुलाकका कसैले खोजीनीति गरेन । सिफारिसअनुरूप ‘सहिद रामकुमार राई’ का नाममा १० रुपैयाँ मूल्यका १० लाख हुलाक टिकट छाप्ने निर्णय भयो ।
कला अधिकृत पूर्णकला लिम्बूले छोटो अवधिमै टिकट–डिजाइन गरिन् । इन्डोनेसियाको सेक्युरिटी–प्रेसमा टिकट छाप्न सुरु भयो । करिब १ लाख ८० हजार प्रति टिकट छापिएपछि मात्रै थाहा भयो– रामप्रसाद राईलाई सरकारले सहिद घोषणा गरेकै रहेनछ । ‘त्यसपछि बाँकी टिकट छपाइको काम तुरुन्तै रोकिहाल्यौं,’ केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्यालले भने ।
हाल प्रदेश १ का मुख्यमन्त्री तत्कालीन सञ्चारमन्त्री राईको प्रस्तावमा योद्धा राईको टिकट त छापियो, तर टाँचालाग्न सकेन । त्यो टिकट अहिले गोश्वारा हुलाकको भण्डारमा थन्क्याएर राखिएको छ । उसो तयिनै विद्रोही नेता राईको २०५५ सालमा पनि टिकट छापिएको थियो, ७५ पैसा मूल्यको ।
टिकट भण्डारका व्यवस्थापक पौड्यालका अनुसार झन्डै २० लाखप्रति हवाई पत्र पनि भण्डारका बाकसमा तालाबन्द गरेर राखिएको अवस्थामा छन् । ‘१० रुपैयाँ मूल्यका हवाईपत्र ६ लाख, ५० पैसा मूल्यका १० लाख, ७५ पैसाका ५ लाखजति हवाई पत्र तालाबन्द गरेर राखिएको छ,’पौड्याल भन्छन्, ‘सरकारी नियममा राजस्व दाखिला हुनुपर्ने उत्पादनलाई लिलाम गर्न पनि मिल्दैन, धुल्याउन पनि मिल्दैन ।’