नेपालमा इमेल/इन्टरनेट सेवा सुरु भएको २३ वर्ष पुगेको छ। २३ वर्षको यस अवधिमा यो क्षेत्रमा भएको जति विकास सायदै अन्य कुनै क्षेत्रले हासिल गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्। विगत सात वर्षको अवधिमा ५४.४३ प्रतिशतले इन्टरनेट पहुँचमा वृद्धि भएको छ। २०६७ मा इन्टरनेट पहुँच कुल जनसंख्याको ८.७४ प्रतिशत थियो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
प्रविधिमा भएको विकास र मोबाइलको विस्तारले पनि इन्टरनेटको पहुँचमा वृद्धि गर्न ठूलो भूमिका निर्वाह गरेको छ। कुनै समय एक कल फोन गर्न लाइन बस्नुपर्ने अवस्थामा परिवर्तन भएर नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइल विस्तार भइसकेको छ। प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा कुल जनसंख्याको १३५.५५ प्रतिशत मानिसमा मोबाइल सेवा पुगिसकेको छ। झन्झटिलो इमेल सर्भरबाट सुरु भएको इन्टरनेट प्रयोगकर्ता अहिले एक करोड ६७ लाख ३७ हजार तीन सयभन्दा बढी छन्।
सन् १९९५ जुलाईमा मर्कन्टाइलले पहिलो पटक इमेल सेवा सुरु गरेको थियो। सन् १९९५ सेप्टेम्बरमा आएर वल्र्डलिंकले इमेल/इन्टरनेटको विकास क्रममा इँटा थप्ने काम गर्यो। रमाइलो कुरो त अझ यो छ कि, एउटा व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनका लागि निर्माण गरेको इमेल सर्भरले नेपालमा इमेलदेखि इन्टरनेटसम्म आइपुग्ने बाटो खोल्यो।
बेराजगारीसँगै भित्रिएको इन्टरनेटले नेपालमा तहल्का मच्चाएको छ। सियाटलमा युनिभर्सिटी अफ वासिङटनबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेर ६ महिनासम्म बेरोजगार बसेका युवाले लिनक्स अपरेटिङ सिस्टममा आधारित भएर तयार गरेको इमेल सर्भर नै नेपालको इन्टरनेट विकासको प्रमुख कडी हो। दाइले निर्माण गरेको यो सर्भर नेपालमा जडान गरी आफ्ना बुबाआमासँग सहजै गफ गर्न सकिन्छ भनेर अमेरिकाको ब्रिक्स कलेजमा बायो केमेस्ट्रीमा डिग्री गरिरहेका दिलिप अग्रवाल (वल्र्डलिंक प्राइभेट लिमिटेडका अध्यक्ष) ले नेपालमा सुरु गरेको इमेल सर्भर आज नेपालको ठूलो इन्टरनेट प्रदायक कम्पनीको रूपमा उदाएको छ।
डायलअपमा आधारित भएर सुरु भएको उक्त इमेल सर्भिस ग्राहकका साथै सेवा प्रदायकलाई पनि झन्झटको विषय थियो। ‘उक्त समयमा इमेल सर्भिस पाउनेलाई भाग्यमानी व्यक्तिको रूपमा हेरिन्थ्यो’, अग्रवाल भन्छन्, ‘आज इमेल सबैको पहँुचमा त्यो पनि सहज रूपमा पुगेको छ। इमेल सर्भिसबाट फुल फेजको इन्टरनेट सेवा भने १९९७ जनवरीबाट भएको हो।
त्यो बेला मर्कन्टाइलले सिंगापुरको सिङटेलसँग लिजलाइन लिएर इन्टरनेट सेवा सुरु गरेको थियो। त्यो भन्दा अघि किलोबाइटमा इमेल बेचिरहेको अवस्थामा प्रतिमिनेट चार्जका आधारमा इन्टरनेट बेच्न सुरु भयो। त्यसपछिका दिन इन्टरनेटको डिमान्ड पनि बढ्दै गयो। सुरुमा इन्टरनेट जति मिनेट प्रयोग गरियो त्यति नै मिनेटको शुल्क तिर्नु पर्थ्यो। दिउँसोको अलि महँगो थियो भने बेलुका अलि सस्तो। सन् १९९८ मा आएर पहिलो पटक नेपालमा भिस्याट भित्रिएको थियो। त्यतिबेला प्रतिएमबीपीएस चार हजार रुपैयाँ थियो। त्यसपछि ग्राहकले धेरै ब्यान्डविथमा इन्टरनेट चलाउन पाए। भिस्याट नेपालको दुरसञ्चार क्षेत्रमा भएको एउटा ठूलो कदम भएको अग्रवाल बताउँछन्।
त्यो समयसम्म पनि नेपाल टेलिकमले भ्वाइस सेवाबाहेक इन्टरनेट सेवा सुरु गरेको थिएन। तर योजना भने बनाएको थियो। सन् १९९९ मा जीएसएम मोबाइल सेवा सुरु गरेको टेलिकमले सन् २००० मा आएर पहिलो पटक डायलअप इन्टरनेट सुरु गरेको थियो। त्यो बेलासम्म इन्टरनेट सेवा प्रदायक कम्पनीले वायरलेस इन्टरनेट सेवा प्रदान गर्न थालिसकेका थिए। त्यो समयमा वायरलेस प्रविधि महँगो भएकाले बिजनेस हाउसमा मात्र पुगेको थियो।
उक्त समय टेलिकमको इन्टरनेट सुरु र प्राइभेट सेक्टरमा भएको प्रतिस्पर्धा नै नेपालको इन्टरनेट विकासको सबैभन्दा महत्वपूर्ण समय भएको बताउँछन् नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल। उनका अनुसार त्यसपछिका वर्षमा नेपालमा धेरै इन्टरनेट प्रदायक कम्पनी भित्रिए, नेपाल टेलिकमले एडीएसएल सेवा सुरु गर्यो।
सन् २००४ मा प्रिपेड मोबाइल सेवा सुरु भयो भने सन् २००७ को अन्त्यमा जीपीआरएस अर्थात मोबाइल इन्टरनेट सेवा सुरु भयो। मोबाइल इन्टरनेटको रूपमा जीपीआरएस सेवा सुरु भएसँगै नेपालमा इन्टरनेटले ठूलो फड्को मारेको खनाल बताउँछन्।
सन् २००८ मा एनटीसीले एडीएसएल सेवा सुरु गरेसँगै भारतको बीएसएनएलमार्फत नेपालमा सस्तोमा इन्टरनेट भित्रिन थाल्यो। प्रतिएमबीपीएस १५ सय डलर तिर्दै आएको इन्टरनेटको मूल्य तीन सय डलरमा झर्यो। यसरी एकपछि अर्को सेवा थपिने क्रमले इन्टरनेट पहुँच सहज भएको छ।
विस्तारै इन्टरनेट ब्यान्डविथ पनि थपिँदै गयो।’ वल्र्डलिंकका अध्यक्ष अग्रवालका अनुसार सन् २०१२ मा वल्र्डलिंकले पहिलो पटक नेपालमा १० एमबीपीएसको इन्टरनेट भित्यायो। साथै सँगसँगै फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट आयो।
अग्रवालका अनुसार एफटीटीएच सेवा नेपालको इन्टरनेट दुनियाको एउटा माइलस्टोन हो। अमेरिका बेलायतजस्ता देशमा अझै पनि एफटीटीएचमा गएका छैनन्। एफटीटीएचको प्रयोग ठूलो मात्रामा एसियाली मुलुकमा भएको छ। त्यसमा पनि जापान कोरियामा बढी प्रयोगमा आएको उनी बताउँछन्। एफटीटीएच भित्रिएसँगै इन्टरनेटको स्पिडमा आकाश जमिनको फरक छ।