भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’
‘मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा,’ पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’
शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा मनोजका मुख्य सहयोगी सोमबहादुर आलेको पनि ज्यान गएको छ ।
प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल, ल्यापटप र केही डायरी पनि बरामद गरेको छ । मनोजले सुनीलकुमार मगरका नाममा नवलपरासीबाट पासपोर्ट (राहदानी) बनाएको र एटिएममा पनि अर्कै नाम राखेको पाइएको एसपी ज्ञवालीले बताए । भेटिएका प्रमाणमाथि अध्ययन गरेपछि थप तथ्य खुल्ने उनले बताए ।