नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो खबर मिलनप्रकाश ढुंगालले आजको नयाँ पत्रिकामा लेखेका छन्।
यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् ।
करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’
किशोरीका बवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’
प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ ।
डिएसपी शर्माले भने, ‘बेचबिखनसम्बन्धी कुनै प्रमाण फेला नपरेपछि उजुरी दर्ता गरिएन ।’ उजुरी दर्ता गरिएपछि पुर्पक्षका लागि थुनामा राख्नुपर्छ भने आफू निर्दोष भएको दोषीले थुनामै बसेर प्रमाण जुटाउनुपर्छ । आगजनीको मुद्दा अदालती प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने उनको भनाइ छ ।
जिल्ला प्रशासनले भने यस विषयमा समन्वयको प्रयास गर्दै आएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले भने, ‘यो केसमा गम्भीर छाँ, सबैसँग बसेर छलफल गर्दैछौँ ।’ जिल्ला शिक्षा कार्यालयले पनि समन्वय गरिरहेको जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अन्य विद्यालयसँग समन्वय गरेर रानादम्पतीलाई काजमा खटाउने प्रयास भइरहेको बताए । उनीहरूलाई गाउँमा फर्काउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधि सकारात्मक देखिँदैनन् ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँको वातावरण बिग्रिएकाले रानादम्पतीको सुरक्षाको जिम्मेवारी लिन नसक्ने बताए । उनले भने, ‘समाजले पचाउन नसक्ने घटना भयो, किशोरीका परिवार आक्रोशित छन् । वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’
अधिकारकर्मी भने जातीय विभेदका कारण यस्तो घटना हुँदा पनि प्रशासनले वास्ता नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी करन दयालले भने, ‘दलित भएकै कारण यस्तो विभेद हुँदा पनि राज्य मौन छ ।’
विस्थापित भएपछि राना परिवार बिचल्लीमा परेको छ । छोराछोरीको पढाइ छुटेको राजुले बताइन् । उनले भनिन्, ‘हिजो अरूका छोराछोरीलाई पढाउँथेँ, आज आफ्नै छोराछोरी पढाउन पाइरहेका छैन ।’
उनीहरूलाई नेपाल रेडक्रस सोसाइटी, बैतडीले भाँडाकुँडाको व्यवस्था गरेको छ । इन्सेक बैतडीले १० हजार रुपैयाँले दिएको थियो । मुद्दा लड्ने पैसासमेत नभएको करनले बताए ।
राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे ।
किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए ।
केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् ।
फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् ।
त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग-यो ।
तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।