सन्दीप लामिछानेले चार वर्षअगाडि एउटा हक्की निर्णय गरेका थिए, नेपाल फर्किने। त्यतिखेर उनी अभिभावकसँग भारतमा बस्दै आएका थिए । क्रिकेटको ठूलो संस्कार रहेको भारत छाडेर नेपालमा भविष्य खोज्ने उनको यो निर्णय निकै चुनौतीपूर्ण थियो ।
आजको कान्तिपुरमा विनोद पाण्डे अगाडि लेख्छन्- नेपाली क्रिकेट भारतको तुलनामा खासै केही थिएन । १३–१४ वर्षे बालक सन्दीपको मनमा एक्कासि पलाएको नेपाल फर्किने चाहनाले परिवारमा सबैलाई आश्चर्यमा पार्यो । तर, अभिभावकले छोराको चाहनामा साथ दिए ।
‘उसले नेपालमा गएर केही गर्न मन लागेको बताएपछि बुवाआमालाई भनेर यहाँ ल्याएका हौं । चितवन क्रिकेट एकेडेमीमा भर्ना गरेपछि बाँकी काम सबै उसैले गर्दै आयो । यहीं रजहरबाट दैनिक नारायणगढ पुगेर अभ्यास गरी फर्किन्थ्यो,’ सन्दीपका भिनाजु अनिल न्यौपाने मंगलबार नवलपरासीमा भन्दै थिए, ‘ऊ एकदमै सीधा थियो, यहाँको वातावरण केही बुझेको थिएन । सबैसँग मिल्थ्यो । क्रिकेटमा धेरै समय बिताउन खोज्थ्यो ।’ भारतमा रहँदा पढाइका क्रममा सन्दीपको संगत क्रिकेट खेल्ने समूहसँग भयो । त्यही संगतले उनलाई त्यसतर्फ डोर्याएको बुवा चन्द्रनारायणले सुनाए । ‘पढाइमा भन्दा खेलमा धेरै रुचि राख्थ्यो । पढाइमा तपाईंलाई कति प्रतिशत चाहिने हो, त्योभन्दा माथि ल्याउँछु । त्यसपछि खेल्न जान रोक्न मिल्दैन भन्थ्यो,’ चन्द्रनारायणले भने, ‘हाम्रो र नेपालको नाम उचो राख्छु भनेर यहाँ आएको हो । हामीले त्यसमा कुनै बाधा–अड्चन गरेनौं । नेपाल आएपछि उसले दैनिक कठिन प्रशिक्षण गरेर आज यो स्थितिमा पुग्दा गर्व लाग्नु स्वाभाविक हो । ऊ यहाँसम्म पुग्नुको श्रेय प्रशिक्षकहरू राजु
खड्का, पुबुदु दासानायके, चितवन क्रिकेट एकेडेमीलाई दिनुपर्छ । भाग्यले पनि साथ दियो ।’
सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएका हुन् । बुवा २०२८ मा रोजगारीका लागि भारततिर लागे । पछि सन्दीप पनि उतै गएका थिए । हरियाणामा रेल्वेमा जागिरे चन्द्रनारायणले दुई वर्षअघि अवकाश पाए । जेठो छोरालाई त्यही जागिर थमाई चन्द्रनारायण दम्पती नेपाल फर्किएको ४ महिना मात्र हुन लाग्यो । उनीहरू हाल चितवनको सौराहास्थित चित्रासारीमा बस्छन् । त्यहाँ जग्गा पहिला नै लिएका थिए । पछि घर बनाएर कुरुवा राखे । आफू भारतमै बस्थे । अक्सनको प्रत्यक्ष प्रसारण हेरिरहेका उनीहरूले
आफ्नो छोरो इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा छनोट भएको थाहा पाएका थिए । भारतमा सन्दीपले ६–७ वर्ष बिताए ।
‘हामी भारतमा बस्दा क्रिकेट हेरिरहन्थ्यौं । त्यसैले छोराले नेपाल गएर खेल्छु भन्दा केही भनेनौं । नेपालले पनि क्रिकेटमा राम्रै गरिरहेको थाहा पाएका थियौं,’ चन्द्रनारायणले भने, ‘ऊ भारतमा बस्दा स्कुल स्तरमा खेलिरहन्थ्यो । युजभेन्द्र चाहाल ऊभन्दा केही सिनियर थिए । उसले सानो छँदा उनीहरूसँगै खेलेको थियो । चाहाल बेङ्लोरबाट आईपीएल खेल्नेछन् । अहिले सानोमा सँगै खेलेका साथीहरू सन्दीपकहाँ पुग्यो, हामी यहीं छौं भन्छन् ।’
माइकल क्लार्कलाई भेट्नु सन्दीपको खेलजीवनको टर्निङ प्वाइन्ट मान्छन् उनीहरू । हङकङ ब्ल्टि्ज खेल्न जानुअघि नाबालक भएकाले सन्दीपको भिसाका लागि चन्द्रनारायणले भारतबाटै कागज बनाएर स्वीकृति पठाइदिएका थिए । हङकङमै उनले अस्ट्रेलियाका विश्वकप विजयी कप्तान क्लार्कसँगै कावलुन क्रिकेट क्लबबाट खेलेका थिए ।
आमा कोपिलादेवीलाई सन्दीपले भनेको एउटा कुरा झलझली याद आउँछ । ‘इन्जिनियर, ओभरसियर्स बने घर छेउछाउकाले चिन्लान् तर खेलाडी बने पूरै देशले चिन्छ भन्थ्यो,’ छोराले आईपीएलसम्मको यात्रा गर्न लाग्दा उनले सम्झिइन् ।
नेपाल आएपछि सन्दीप रहजरस्थित भिनाजुको घरमा दिदी इन्दुसँगै बस्दै आएका थिए । मंगलबार कान्तिपुर संवाददाता रजहर पुग्दा इन्दु पोखरामा थिइन् । उनले हालै त्यहाँ व्यापार सुरु गरेकी छन् । इन्दुको घरमा सन्दीपका फोटा टाँगिएका थिए । एउटा कोठा उनले पाएका व्यक्तिगत ट्रफीले सजिएको थियो । किट ब्याग र हेलमेट स्ल्यापमा राखिएको थियो ।
‘बिहानदेखि बेलुका नहुन्जेल अभ्यास गरिरहन्थ्यो । बिहान नजिकैको चौरीमा खेल्न जान्थ्यो । दिउँसो अभ्यास गर्न नारायणगढ पुग्थ्यो । ऊ आउँदादेखि नै यहाँको स्तरमा राम्रै खेलाडी थियो । एकेडेमीमा पठाएपछि खेलमा धेरै सुधार आयो,’ भिनाजु अनिलले भने ।
आईपीएलमा छनोट भएपछि अनिलले फोन गरेर बधाई दिएका थिए सन्दीपलाई । उनले ‘दिदी–भिनाजुकै प्रमुख कारणले यहाँ पुगेको हुँ’ भनेको अनिल बताउँछन् । ‘बाहिर खेल्न जानुअगाडि गएँ भनेर खबर गर्छ । विदेश पुगेपछि पनि खबर गरिरहन्छ । आईपीएल पुग्छ भन्ने विश्वास लाग्दै गएको थियो,’ उनले भने ।
राष्ट्रिय टोलीमा पहिलो पटक पर्दा सन्दीप जुन उद्देश्यले नेपाल आए, त्यो पूरा भएको लागेको रहेछ दिदीभिनाजुलाई । नामिबियासँगको खेल दिदीभिनाजुले कीर्तिपुर मैदानमै हेरेका थिए । गत वर्ष केन्यासँगको खेल बुवाआमाले पनि काठमाडौं गएर हेरे । चन्द्रनारायणले भने, ‘केन्यासँगको खेल हेरेपछि महसुस भयो कि हाम्रो बच्चा अझै माथि पुग्नेछ ।’