रुगिनको राँगेभीर । तल हेर्यो नीलै देखिने कर्णाली, माथि हेर्दा टाउकै ठोक्किएलाजस्तो चट्टाने भीर । मुस्किलले आधा मिटरजति त्यही चट्टान खोलेर बनाइएको बाटोमा हिँड्ने बेला जोकसैको मन ठेगानमा हुन्थेन । बाजुराका बिच्छ्याँ, रुगिन र हुम्लाका बूढापाका परिवारका सदस्य सदरमुकाम मार्तडी वा भारततिर झर्दा ‘राँगेभीरमा ख्याल गरेर हिँड्नू’ भनेर सम्झाउँथे । उक्त भीरमा कैयौंले ज्यान गुमाएका कथाब्यथा गाउँमा अझै सुनिन्छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
कर्णाली करिडोरअन्तर्गत बाजुराको रुगिनस्थित राँगेभीर छिचोलेर खोलिएको सडक र बाँधुस्थित कालापहरामा चट्टान फोरिँदै ।
चार महिनायता यो बाटोको अवस्था फेरिएको छ । राँगेभीरको नामनिसान मेटिएको छ । त्यही चट्टानको बीच भाग छिचोलेर चौडा सडक बनाइएको छ । पछिल्लो अवस्थाबारे खुसी हुँदै बाँधु मावि रुगिनका प्रधानाध्यापक दीपक पाण्डेले आफ्नो फेसबुकमा लेखे, ‘राँगेभीर खल्लास, अब हाम्रा पनि मुहार फेरिने दिन आउने भए ।’
नेपाली सेनाको नेतृत्वमा निर्माण कार्य भइरहेको कर्णाली करिडोर सडकको निर्माण गतिले बाजुरा र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, बिछट्टै खुसियाली पनि ल्याएको छ । अहिले बाजुरा सदरमुकाम पुग्न तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेका रुगिन बिच्छ्याँका बासिन्दा सडक सञ्चालनले आफूहरूको जीवन फेरिनेमा उत्साहित छन् । ‘पुस्तौंदेखिको नुन–चामलकै संघर्षका लागि भारी बोक्ने दिन अन्त्य हुनेछन्, विकासका ढोका खुल्नेछन्’, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले भने, ‘हाल १० हजार प्रतिक्विन्टल मूल्य पर्ने चामलको मूल्य सडक खुलेपछि घटेर ४ हजारमा सजिलै उपलब्ध हुनेछ ।’
कालिकोटदेखि हुम्लाको सिमकोटसम्म कुल १ सय ९६ किलोमिटर रहेको यस करिडोरअन्तर्गत ४३ किलोमिटर बाजुरा खण्डमा पर्छ । जसअन्तर्गत हालसम्म बाजुरा र गोत्रीको सिमानामा पर्ने लैफुदेखि धुलाचौरसम्मको करिब ३५ किलोमिटर ट्रयाक खुलिसकेको छ । ९ किलोमिटर अगाडि बढे हुम्ला र बाजुराको सिमाना कवाडी पुग्नेछ । हाल कालिकोटको तोलीभीरमा बाँकी रहेको करिब ५ सय मिटर चट्टान छिचोलेर ट्रयाक खोल्ने प्रयास भइरहेको छ । ‘तोलीभीर खुलेपछि बाजुराको धुलाचौरसम्मको ट्रयाक क्लियर हुनेछ,’ निर्माण कार्यमा संलग्न सेनानी मिलन कार्कीले भने ।
‘यही वर्षभित्र धुलाचौरसम्म जिप, ट्याक्टर चल्ने आस गरेका छौं,’ रुगिनकै तेजबहादुर सार्कीले भने । गोत्रीको जुड्डी खोलामा यसै आर्थिक वर्षभित्र बेलिब्रिज राख्ने योजना रहेको नेपाली सेनाका प्राविधिकहरूले बताएका छन् । चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ ।
विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो भने अबको पुस्ताले सुख पाउनेछ ।’
यो सडक कर्णालीसँग जोडिएका बाजुराका अति विकट मानिने साप्पाटाका गोत्री, जगन्नाथ, बाँधु र रुगिन गाविस हुँदै सिमकोट पुग्नेछ । सडक निर्माणको गति देखेर हुम्ला र मुगुका बासिन्दा जति हौसिएका छन्, बाजुराको पूर्वोत्तर क्षेत्रका बासिन्दा पनि त्यत्तिकै खुसी छन् ।
कडा चट्टानमा विस्फोटबाहेक छिटोछरितोकाम होस् भनेर ट्रयाक खोल्ने काममा निजीक्षेत्रका ठेकेदारलाई समेत सेनाले परिचालन गरिरहेको छ । चालु आर्थिक वर्षभित्र हुम्लातर्फ पनि करिब १० किलोमिटर छिचोलिसक्नेसेनाको योजना छ ।
तीन वर्षअघिदेखि कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु–सिमकोट सडक खण्डको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनाले लिएपछि कामले तीव्रता पाएको छ । कालिकोटको खुलालुलाई जिरो प्वाइन्ट मानिएको छ । यसअन्तर्गत कालिकोट खण्डमा ४० किलोमिटर, बाजुरा खण्डमा ४३ र हुम्ला खण्डमा १ सय १३ किलोमिटर पर्छ ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो ।