‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो। १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौं। धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’ यो खबर नितु घलेले आजको अन्नपूर्णमा लेखेकी छन्।
वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्। उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।
यता, ढोलाहिटी हाइटमा बस्ने बिन्दा केसी पनि खानेपानी लिमिटेडको रबैया देखेर वाक्क छन्। पानी पिउनै नपाई बिल तिर्न बाध्य भएको गुनासो उनको छ। उनको धारामा पानी नझरेको झन्डै आठ वर्ष भयो। पानी नआए पनि प्रतिमहिना न्यूनतम महसुल भने तिर्दै आएकी छन्। पानीको बिल मात्रै तिर्नुपरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल पुगेर धेरैपटक निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो उनको छ। सधैं ट्यांकर र जारको पानी किनेर खानुपरे पनि इमानदारीपूर्वक बिल तिरिरहेको उनले बताइन्।
‘खानेपानी कार्यालयले गुनासो सुनुवाइ नगरेपछि स्थानीयसँग मिलेर दुईपटक जुलुससमेत लिएर कार्यालय पुग्यौं। तैपनि, केही भएन। त्यसपछि चुपचाप पानीको पैसा तिर्न बाध्य भयौं,’ केसीले दुखेसो पोखिन्, ‘खानेपानी कार्यालयका कर्मचारीले सधैं पानी आउँछ भनेर आश्वासन मात्र दिए, पानी आएन।’
बीस वर्ष पहिलाको सम्झना सुनाउँदै सुनाकोठी, जैनखेलका राम केसीले भने, ‘उतिबेला धारोमा पानीको छेलोखेलो हुन्थ्यो। आठ, दस वर्षदेखि एक थोपा पानी खसेको छैन।’ पानी नआए पनि महिनैपिच्छे बिल तिरिरहेको उनले सुनाए। सोही टोलका राजन केसीको समस्या पनि उस्तै छ। उनको घरको सरकारी धारोमा पनि दशकदेखि पानी खसेको छैन। बिल भने नियमित तिरिरहेका छन्।
धारामा पानीको थोपा नचुहिए पनि बिलअनुरूपको पैसा अनिवार्य तिर्नैपर्ने समस्या ललितपुरका धेरै सेवाग्राहीले वर्षौंदेखि झेल्दै आएका छन्। काठमाडौं उपत्यका खानेपानी कार्यालय जाउलाखेलका प्रमुख विश्वराज जोशी भने यस्तो बेथितिको जिम्मेवारी स्विकार्न चाहँदैनन्। ग्राहककै कारण समस्या बढेको दाबी उनको छ। ‘ग्राहकले समयमा आएर गुनासो गरे यस्ता समस्या चाँडै समाधान गर्न सकिन्छ। कसैलाई दुःख दिने नियत हाम्रो छैन’, उनले भने। ग्राहकले पानी आएन भनेर गुनासो राखिसकेपछि मात्र अस्थायी रूपमा धारा बन्द गर्ने व्यवस्था रहेको उनले बताए। ‘अन्यथा बिल चढिरहन्छ तर वर्ष दिन पहिला ग्राहकले पानी खाए कि खाएनन् भन्ने कुरो हामीले कसरी प्रमाणित गर्ने ? ’, उनको प्रश्न छ।
जिल्ला जनस्वास्थ्य कार्यालयको हकमा निवेदन हेरिसकेपछि सुपरभाइजर, इन्जिनियर तथा ओभरसियरले स्थलगत निरीक्षण गर्ने र उनीहरूले पानी आउने–नआउने निधो गरेपछि जरिवानामा ९० प्रतिशतसम्म मिनाहा गर्न सकिने नियम बोर्डले बनाएको जोशीले बताए। ‘तर महसुलमा एक पैसा मिनाहा गर्न मिल्दैन,’ उनले भने।
ललितपुरमा मात्रै झन्डै ४५ हजार खानेपानीका ग्राहक छन्। निश्चित नियमअनुसार चल्नुपर्ने हुँदा ग्राहकको बिल मिनाहा गर्न नसकिने उनको भनाइ छ। ‘पानी नआए तुरुन्त खानेपानी कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ उनले थपे।
पारस शाहकोमा पनि उस्तै
तीन वर्षदेखि धापाखेल हाइटमा बस्दै आएका अन्तिम युवराज पारस शाहको आवासमा पनि खानेपानीको उही हालत छ। उनी बस्ने घरमा धारो छ तर पानी खस्दैन। उनको आवासनजिकै बस्ने एक स्थानीयका अनुसार पारस सधैं ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘शाहको घरमा दुई–तीन दिन बिराएर खानेपानीको ट्यांकर भित्रिएको देखिन्छ। अरूको जस्तो छ, उनको हालत पनि उस्तै छ,’ ती स्थानीयले भने, ‘तर सरकारी धारोको बिल तिरे–नतिरेको हामीलाई थाहा छैन।’