राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन्। यो खबर आजको
नागरिक दैनिकमा
सुवोध गौतमले लेखेका छन्।
पदाधिकारीले सरकारी सुविधाको दुरुपयोग गरेको प्रमाण पनि फेलापरेको छ। उनीहरू सरकारी सुविधामा आआफ्नो घर गएर राजनीतिक दलका गतिविधिमा सहभागी भएका छन्।
समितिका अध्यक्ष वीरेन्द्र यादवसहित केही सदस्यले चुरे संरक्षण नीति र रणनीति तर्जुमा गर्नेभन्दा पनि स–साना कार्यक्रम बनाएर बजेट खर्च गर्ने काममात्र गरिरहेका छन्। दुई करोड रुपैयाँ खर्च गरेर बनाइएको चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना उद्देश्य र लक्ष्यविपरीत पाइएको छ।
अध्यक्ष यादवले आफ्नो गाउँ जनकपुर उपमहानगरपालिका जमुनिया थुम्नाहा टोलमा ५५ ५५ लाख रुपैयाँको सडक, सोलार बत्ती र सिँचाइ कार्यक्रम लगेका छन्। ‘पोल गाडेको ठाउँमा सोलार बत्ती कार्यक्रम राखिएको छ, समिति र त्यसले बनाएको गुरुयोजनाले सुगम क्षेत्रमा सडक बत्तीको परिकल्पना नै गरेको छैन’, स्रोतले भन्यो, ‘तर अध्यक्षले आफ्नो गाउँ भनेर यस्तो कार्यक्रम लगेका छन।’ सयवटा पोल गाडेर सोलार बत्ती जडान गर्ने कार्यक्रम बनाइएको छ।
चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण संयोजक विनोद भट्टले समिति स्थापनाको मुख्य उद्देश्य चुरेको माथिल्लो भेग संरक्षण गरी त्यहाँबाट बग्ने नदी प्रणालीलाई व्यवस्थित गर्ने रहेको बताए। ‘समितिको प्राथमिकता चुरे पर्वत संरक्षण र नदी प्रणाली व्यवस्थित गर्नेमा हुनुपर्ने हो। राष्ट्रिय गौरवको कार्यक्रमले स–साना योजना बनाएर रकम खेर फाल्नु गैरजिम्मेवारी हो’, उनले भने।
भट्टका अनुसार सौर्य ऊर्जा चुरेका वनजंगलमा मान्छेको चाप घटाउने उद्देश्यले राखिएको हो। ‘तल्लो बेल्टका सुगम गाउँमा सडक बत्ती राख्न यो कार्यक्रमको उद्देश्य होइन। यसका लागि त स्वच्छ उर्जा प्रवद्र्घन केन्द्र नै छ नि’, उनले भने, ‘तल्लो तहका सर्वसाधारणको जीवन खतरामा छ भने त्यसबाट जोगाउन अरु कार्यक्रम गर्न सकिन्छ।’
भट्टले सोलार बत्ती र बायो ग्यास मासिँदै गएको चुरे वन जोगाउने उद्देश्यले राखिएको जानकारी दिए। उनले दाउरा, इन्धन र चरिचरन नियन्त्रण गर्ने उद्देश्यले गुरुयोजनामा सौर्य ऊर्जाका कार्यक्रम राखिएको बताए।
‘यस्ता टुक्रे योजना ल्याउने भए गुरुयोजना किन बनाउनु पर्थ्यो। सौर्य ऊर्जाको प्रयोग गलत तरिकाले परिभाषित गरेर यस्ता कार्यक्रम गर्न थालिएको छ’, उनले भने।दुई करोड रुपैयाँ खर्च गरेर बनाइएको गुरुयोजनालाई लत्याउँदै पदाधिकारीले मनलागी कार्यक्रम राख्न लागेका छन्। समितिले हरेक वर्ष आफ्नो प्रत्यक्ष संलग्नतामा ५ करोड रुपैयाँ खर्च गरिरहेको छ।