अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग बयान लिएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
निगमको जग्गा खरिद प्रकरणमा परेको उजुरीमा खड्काले अख्तियारका अनुसन्धान अधिकृत समक्ष बयान दिएका हुन् । अख्तियारले उनीसँग लगातार बयान लिने भएको छ ।
बयानमा खड्काले विगतमा पनि टेन्डरबाट आयल निगमले जग्गा खरिद गरेको दृष्टान्त दिएका थिए । त्यही आधारमा जग्गा खरिद गरिएको खड्काको भनाइ थियो । ‘टेन्डरबाट गर्ने निगमको नियमावलीमै छ । म एक्लै सहभागी भएर कुनै पनि निर्णय गरेको छैन’, उनको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो ।
उनले सञ्चालक समिति बैठकको ‘म्यान्डेट’ पनि टेन्डरबाट जग्गा प्राप्ति गर्ने भएकाले सोही अनुरुप सार्वजनिक टेन्डर आह्वान गरिएको भनाइसमेत राखेका छन् । ‘समितिले दिएको अधिकार क्षेत्र अनुरुप जग्गा खरिद गरेको हुँ’, उनको दाबी थियो ।