प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।
गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ । अन्य प्रदेशमा भने टुंगो लाग्न बाँकी छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
प्रदेश १प्रदेश १ मा मुख्यमन्त्रीका लागि चर्चामा रहेका एमाले नेताहरू शक्तिकेन्द्र धाउन थालेका छन् । प्रदेशसभा सदस्यको शपथलगत्तै ती नेताहरू राजधानीतर्फ लागेका छन् । आफ्नो पक्षमा निर्णय गराउन उनीहरू नेताकहाँ धाइरहेका छन् ।
यो प्रदेशमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच मुख्यमन्त्रीका लागि कडा प्रतिस्पर्धा छ । कांग्रेसले मुख्यमन्त्री पदमा उम्मेदवारी दिनेबारे निर्णय गरेको छैन । यो प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने पक्का छ । माओवादी केन्द्रले सभामुख पाउने सम्भावना छ ।
प्रदेश सरकार गठनका लागि एमाले एक्लैको प्रस्ट बहुमत छ भने केन्द्रको समेत सिट जोडदा दुई तिहाइ पुग्छ ।
मुख्यमन्त्रीको दौडमा रहेका एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज शेरधन राई अहिले काठमाडौंमै छन् ।
प्रदेश १ को सभामा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी कुल ९३ सिट छ । यो प्रदेशमा एमाले ५१, माओवादी केन्द्र १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ । एमालेको दुवैतर्फको संख्या जोडदा ५१ जना हुन्छ । यो संख्या प्रदेश सरकारका लागि सहज बहुमत हो । माओवादी केन्द्रको समानुपातिकसहित १५ सिट हुन्छ भने स्वतन्त्र जोडदा एक सिट थप हुन्छ । यो प्रदेशमा वाम गठबन्धनको प्रस्ट दुई तिहाइ मत छ ।
प्रदेश २प्रदेश २ मा मुख्यमन्त्री संघीय समाजवादी फोरम र उपमुख्यमन्त्री तथा सभामुख राजपाले लिने आन्तरिक सहमति छ । जसअनुसार फोरमका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी र कोषाध्यक्ष विजय यादवले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
राजपाबाट उपमुख्यमन्त्रीका रूपमा सरकारको नेतृत्व सप्तरीका नवलकिशोर साह, बाराका जितेन्द्र सोनल र सर्लाहीका रामनरेश रायमध्ये एकले गर्नेछन् । सप्तरीका साह अन्य सांसदभन्दा सिनियर भएकाले दौडमा अगाडि छन् ।
सभामुखका लागि भने कोही अघि सरेका छैनन् । पार्टीको आन्तरिक भेलामा पनि कसैले नाम चर्चामा ल्याएनन् । ‘सभामुखका लागि हालसम्म कोही आकांक्षी देखिएका छैनन्,’ राजपा स्रोत भन्छ, ‘पार्टीले जसलाई जिम्मेवारी तोक्छ, उही अगाडि सर्ने हो ।’ मुख्यमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका फोरमका गद्दी पर्सा १ ‘ख’ बाट निर्वाचित भएका हुन् । पूर्वसांसद समेत रहेका गद्दी प्रखर वक्ता मानिन्छन् । पार्टी अध्यक्षको अनुपस्थितिमा पछिल्लो मधेस आन्दोलनका क्रममा सरकारी पक्षसँगको वार्तामा उनैले सहभागिता जनाएका थिए । सिरहा २ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित यादव सिरहा २ बाट ०६४ मा सभासद निर्वाचित भएका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवसँग उनको निकट सम्बन्ध छ । विजय यादवलाई मुख्यमन्त्री बनाउनै पार्टीले सिरहाबाट एक जनालाई पनि समानुपातिक कोटामा नराखेको फोरम स्रोतको दाबी छ ।
पछिल्लो दशकका अधिकार, पहिचान र प्रतिनिधित्वका आन्दोलनबाट उठेका आकांक्षाहरू व्यवहारत: सम्बोधनको तहमा पुगेका छन् । एक मात्र मधेसी बहुल प्रदेश २ मा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको ६४ सिटमध्ये मधेसी गठबन्धन (संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टी १५) को ३५ सिट छ । वाम गठबन्धनले (एमाले १२ र माओवादी केन्द्र ७) १९, कांग्रेसले ९ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
प्रदेश २ मा ७३ समानुपातिक सिट छ । कुल १ सय ७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनको सहयोगबिना नै सरकार बनाउन सक्छ ।
प्रदेश ३३ नम्बर प्रदेशमा एक्लै सरकार बनाउने हैसियतमा रहेको एमालेले कसलाई मुख्यमन्त्री उम्मेदवार बनाउला, सर्वत्र चासो छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई यो प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएको छ भने अन्य दुई नेता पशुपति चौलागाईं र राजेन्द्र पाण्डेले पनि आफूहरू मुख्यमन्त्री दाबीकै लागि प्रतिनिधिसभा छाडेर प्रदेशसभामा निर्वाचित भएको बताइरहेका छन् ।
प्रदेश ४प्रदेश ४ को प्रदेश सरकारको मुख्यमन्त्री पदमा एमालेका दुई शीर्ष नेताबीच रस्साकसी छ । यो प्रदेशमा सबैभन्दा ठूलो दल एमालेबाटै मुख्यमन्त्री हुने निश्चित भएकाले स्थायी समिति सदस्य तथा प्रदेश संगठन संयोजक तनहुँका किरण गुरुङ र केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख लमजुङका पृथ्वीसुब्बा गुरुङको दाबेदारी छ ।
यो प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन् । मनाङबाट एमालेको सहयोगमा निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङ भने सर्वोच्च अदालतको आदेशपछि सांसद हुन पाएनन् । त्यसैले सांसदको संख्या ५९ मात्रै भएको छ ।
तीमध्ये एमाले २७, कांग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चा ३ र नयाँ शक्तिका २ सांसद छन् । गठबन्धनबिना कुनै एक दल एक्लैले प्रदेशमा सरकार गठन गर्ने सम्भावना छैन । सरकार गठनमा वाम गठबन्धन कायम रहे दुई तिहाइकै सरकार बन्नेछ ।
उता कांग्रेसमा पनि संसदीय दलको नेताका लागि पुराना नेता नवलपरासीका कृष्णचन्द्र नेपालीको नाम चर्चामा छ । त्यसैगरी, कास्कीका विन्दुकुमार थापाको पनि नाम लिन थालिएको छ । संसद्मा कांग्रेसका ६ प्रत्यक्ष र ९ समानुपातिक गरी १५ सांसद छन् । मुख्यमन्त्री एमालेबाटै हुने सम्भावनाले माओवादीका सांसदहरू सभामुख र मन्त्रीका लागि दौडधुपमा छन् । यस प्रदेशमा माओवादी केन्द्रका १२ सांसद छन् ।
प्रदेश ५ मा वामबाट पोखरेल निर्विकल्पएमाले स्थायी समिति सदस्य एवं दाङ २ ‘क’ बाट प्रदेशसभा सदस्य शंकर पोखरेल संसदीय दलको नेता चयन भएपछि अब मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ । प्रदेशका कुल ८७ सदस्यमध्ये एमालेका ४१ र माओवादीका २० छन् । कांग्रेस १९, फोरम ५, राजपा १ र जनमोर्चा १ छन् । वाम गठबन्धनको सहज बहुमत भएको र माओवादीले मुख्यमन्त्री दाबी नगरेकाले पोखरेलका लागि बाटो खुला देखिएको हो । तर उनी चुनौतीविहीन भने छैनन् ।
अस्थायी मुकामकै विषयले जिल्लामा पोखरेलप्रति आक्रोश व्यक्त भइरहेको छ । एमालेकै नेता विष्णु पौडेलले बुटवलका लागि कडा लबिइङ गरिरहेका बेला पोखरेलको रोजाइ दाङ छ । मुख्यमन्त्री भइसकेपछि यो मुद्दालाई कसरी व्यवस्थापन गर्छन् भन्ने चुनौती उनीसामु छ । प्रदेश राजधानीको मुद्दा अब प्रदेशसभाबाट एक कार्यदल बनाएर टुंगो लगाउन सकिने पोखरेलको विश्वास छ ।
प्रदेश ६प्रदेश ६ मा पनि एमाले एक्लै सरकार बनाउन सक्ने हैसियतमा रहेको भन्दै प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरिसकेको छ । एमाले प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल र प्रकाश ज्वालाको दाबेदारी छ भने माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र झपट बोहराको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ ।
प्रदेश ७तराईका भूमिपुत्र भनिने थारू समुदायबाट प्रदेश ७ को पहिलो मुख्यमन्त्री हुने सम्भावनाले आदिवासी थारू समुदायमा उल्लास छाएको छ । वाम गठबन्धनको बहुमत रहेको प्रदेश ७ मा मुख्यमन्त्रीमा माओवादी केन्द्रका वीरभान चौधरीको नाम चर्चामा छ ।
१० जना प्रत्यक्ष निर्वाचनबाट र ४ जना समानुपातिकबाट निर्वाचित भएका माओवादी केन्द्रको प्रदेशसभामा १४ सांसद छन् । प्रदेशसभामा दोस्रो स्थानमा रहेको माओवादीले सरकारको नेतृत्व गर्ने मौका पायो भने चौधरी मुख्यमन्त्रीका निर्विवाद उम्मेदवार हुन सक्ने सम्भावना देखिएको केन्द्रका नेताहरूले बताएका छन् ।
माओवादीभित्र वीरभान चौधरी, महेश जोशी, झपट बोहरा, मानबहादुर सुनार र त्रिलोचन भट्टसहितको नाम चर्चामा रहे पनि बलियो सम्भावना चौधरी र बोहराको रहेको माओवादी केन्द्रका सांसदहरू बताउँछन् ।
प्रदेश ७ मा तेस्रो स्थानमा रहेको कांग्रेसभित्र भने प्रदेश संसदीय दलको नेताका लागि लबिइङ सुरु भएको छ । कांग्रेसबाट प्रत्यक्ष ४ र समानुपातिक ८ गरी १२ सांसद निर्वाचित छन् । प्रदेश संसदीय दलको नेतामा डिल्लीराज पन्त, देवराज पाठक, गोविन्द बोहरा, डा. रणबहादुर रावल, कर्ण मल्ल र भरत खडकाको नाम चर्चामा छ ।