प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।
कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
‘मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागज किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही बुझ्नुपर्ने भएको हुँदा,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा लेखिएको छ, ‘खोजतलास गरी यस कार्यालयमा अविलम्ब उपस्थित गराइदिनुहुन अनुरोध छ ।’
यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो ।
त्यसलगत्तै काठमाडौं प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई सोही व्यहोरा अवगत गराएको थियो । सिलवाल नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको हो । प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले पत्राचार भएको जनाउँदै कानुनअनुसार आफूहरू अघि बढिरहेको बताए ।