एमालेसँग पार्टी एकताको विषयमा माओवादी शीर्ष नेताबीच छलफल भएको छ। मंगलबार बस्ने एकता संयोजन समिति बैठकको पूर्वतयारीस्वरूप सोमबार अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको हो। ‘मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा उठाउने एजेन्डाका विषयमा छलफल भयो,’ प्रचण्ड सचिवालय स्रोतले भन्यो, ‘दुई पार्टी सम्मिलित एकता कार्यदलमा कुन–कुन नेताले विचार राख्ने तथा कार्यदिशासम्बन्धी कार्यदलका विषयमा कसरी जाने, कुन नेतालाई राखेर जाने भन्ने विषयमा छलफल केन्द्रित भयो।’ यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको पावर सेयरिङका विषयमा विभिन्न मोडालिटीका विषयमा छलफल भएको छ। माओवादी केन्द्रका नेता श्रेष्ठले एकता संयोजन समितिको पूर्वतयारीस्वरूप छलफल भएको बताए।
नेता जनार्दन शर्माले एमाले–माओवादी एकता एक डेढ महिनाभित्र पूरा हुने बताए। ‘पार्टीभित्र कतिपय विषय छलफल भए पनि बाहिर ल्याउँदा राम्रो हुँदैन,’ शर्माले भने, ‘सबै विषय परिपक्व भएपछि मात्र एकताको विषय बाहिर ल्याउँछौँ।’