इलाम जिल्लाको दुर्गममा पर्ने फाकफोकथुम गाउँपालिका–७, फुएतप्पाका १० वर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौंतारिइरहेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ उपचार खर्च जुटाउनु ‘फलामको चिउरा चपाए’ जस्तै हो। ‘के गर्नु, उपचार नगरौं छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौं जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो,’ रोमनाथले भने, ‘डाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नु परेको छ, आफन्त र छिमेकीले पैसा उठाएर पठाइदिएका छन्।’
सरकारले डाइलासिसको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि वडादेखि काठमाडौंसम्मका अस्पतालमा कागजात मिलाउने झन्झटिलो प्रक्रियाका कारण उनले यो सुविधा लिन सकेका छैनन्।
सरकारले विशिष्ट व्यक्तिहरुको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दुरदराजका विपन्न बिरामीको मत भत्भती पोल्छ। टाउकोमा ऋणको भारी बोकेर रोगसँग संघर्ष गरिरहेका विकटका विपन्न सरकारले विशिष्ट व्यक्तिहरुको उपचार र सेवा सुविधामा रकम छुट्याएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन्।